काठमाडौं । सभामुख देवराज घिमिरेले महिलाहरूको सहभागिता र सक्रियताअनुसार प्रचार हुन नसकेको बताएका छन्।
शुक्रबार अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा आयोजित मिडियामा महिलाका विचार गोष्ठी कार्यक्रममा बोल्दै सभामुख घिमिरेले यस्तो बताएका हुन् ।
सभामुख घिमिरेले संसद र अन्य संघसंस्थाहरुमा पनि महिलाहरुको सहभागिता बढीरहेको भएपनि सञ्चारमाध्यमहरुले सो अनुसार प्रचारप्रसार नगरेको बताए ।
सभामुख घिमिरेले सञ्चारमाध्यमहरुले विशेष नेता र चर्चामा आएका विषयवस्तु बाहेकका समाचार नबनाएको गुनासो गरे ।
उनले आफू सभामुख भइसकेपछिका संसद बैठकमा पनि महिला सांसदहरुले शून्य र विशेष समयमा सक्रियता र सहभागिता उल्लेख्य देखाए पनि सञ्चारमाध्यमहरुले सक्रियता अनुसार प्रचार गर्न कन्जुस्याइँ गरेको बताए ।
उनले संसदमा महिलाहरुका लागि अस्थायी प्रकृतिका केही संरचनाहरु जरुरी रहेको भन्दै त्यो निर्माण गर्नेगरी संसद सचिवालयसँग कुरा गरी महिलालाई मिडिया फ्रेण्ड्ली बनाउन विभिन्न कार्यक्रम निर्माण गर्ने योजनामा आफू रहेको बताए ।