Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

जलविद्युत् आयोजनाले उठिबास

रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिका–२ का खम्बध्वज बस्नेतलाई दिनमा भोक र रातमा निद्रा हराएको छ । गाउँपालिकामा निर्माणाधीन जलविद्युत् आयोजनाहरूका कारण बस्नेतको घरबास उठ्ने अवस्थामा पुगेको छ । जलविद्युत् आयोजनाहरूले आयोजना निर्माणका लागि सामग्री ल्याउन मनलाग्दी रूपमा सडक ठूलो बनाउँदा बस्नेतको घर पहिरोले तानेको छ ।

दुःख गरेर बनाएको घर नै पहिरोले तानेपछि बस्नेतलगायत उनको परिवारकै भोक र निन्द्रा हराएको छ । जलविद्युत् आयोजनाले विभिन्न आश्वासन दिएर जथाभाबी खनेको सडकका कारण बस्नेतको भूकम्पपछि बनाएको टहरा पहिरोले तानिसकेको छ भने अहिले बसिरहेको दुईवटा घर पनि उच्च जोखिममा छ ।

जलविद्युत् आयोजनाहरूले आफ्नो सामान ल्याउन ठूला गाडी गुडाउन मनलाग्दी फराकिलो बनाएको सडकबाट पहिरोले तान्दा अहिले घरमा बस्ने स्थिति नभएको उनले बताए । आँखाबाट आँसु झार्दै उनले भने, “पहिरोले घरमा बस्ने स्थिति छैन, अहिले त जसोतसो बसेका छौँ तर बर्खामा बस्ने अवस्था छैन, हाइड्रो प्रोजेक्टले उठिबास लगायो, हाम्रो समस्या कसैले देखेनन्, सुनेनन् ।”

अरू केही चाहिँदैन स्थानीय, प्रदेश, सङ्घीय सरकार वा हाइड्रो प्रोजेक्ट कसले हुन्छ घर र जग्गामा गइरहेको पहिरो रोकथाम गरेर परिवारलाई सुरक्षित बस्ने वातावरण बनाइदिए पुग्थ्यो भन्छन् उनी । खम्बध्वज बस्नेतको मात्रै होइन उमाकुण्ड गाउँपालिका–२ का तेजबहादुर बस्नेतको पनि पीडा उस्तै छ । गाउँपालिकाका विभिन्न स्थानमा निर्माण भइरहेका जलविद्युत् आयोजनाहरूले बाटोघाटो चौडा बनाउँदा उनको पनि घरसहित चारवटा खेत पहिरोको निसाना बनेका छन् । गोरखापत्र दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077