कुमार भण्डारी / आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपालमा सम्पन्न त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले नेपालले लगातार चौथो जित निकालेको छ । नेपाल, स्कटल्यान्ड र नामिबियाबीचको त्रिकोणात्मक एकदिवसीय सिरिजमा भने नेपालले लगातार चौथो जित निकालेको हो ।
सिरिजको अन्तिम खेलमा नेपालले मंगलबार कीर्तिपुरस्थित त्रिवि मैदानमा लिग–२ को च्याम्पियन स्कटल्यान्डमाथि २ विकेटको जित निकाल्यो । नेपालले घरेलु मैदानमा भएको यो सिरिजको चारै खेलमा जित निकाल्न सफल भएको हो । एकदिवसीय क्रिकेटमा नेपालले लगातार चार खेलमा तिज निकालेको यो पहिलो पटक हो ।
लिग–२ मा स्कटल्यान्ड च्याम्पियन बनेको छ । लिग–२ को शीर्ष टिम स्कटल्यान्डले ३६ खेलबाट ५० अंक जोडेको छ भने दोस्रो स्थानको ओमानले आफ्ना सबै ३६ खेल खेल्दा ४४ अंक जोडेको छ । तेस्रो स्थानको नामिबियाले अन्तिम ३४ खेलबाट ३७ अंक जोडेको छ । चौथो स्थानको अमेरिकाले सबै ३६ खेलबाट ३५ अंक जोडेको छ ।
लिग–२ मा नेपाल छैटौं स्थानमा छ । नेपालले लिग–२ मा आफ्ना ८ खेल खेल्न बाँकी छँदा २८ खेलबाट २६ अंक जोडेको छ । नेपालभन्दा माथि रहेको पाँचौ स्थानको युएईको २६ खेलबाट २७ अंक छ । पुछारको पिएनजीको २८ खेलबाट ५ अंक मात्र छ । लिग–२ का शीर्ष तीन टिम विश्वकप छनोटमा पुग्नेछन् । बाँकी चार टिमले क्वालिफायर प्लेअफ खेल्नु पर्नेछ ।
लिग–२ बाट स्कटल्यान्ड र ओमान विश्वकप छनोटमा पुगिसकेका छन् । अब बाँकी एक स्थानका लागि नामिबिया, नेपाल र युएईबीच प्रतिस्पर्धा छ । आइसिसीले क्रिकेट विश्वकप २०२३ को छनोटका लागि तीन वटा लिग गरिरहेको छ ।
नेपालको लगातार चौथो जितमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) पनि जोडिन पुगेको छ । यसअघि भएको नेपाल टि–२० क्रिकेटमा स्पट फिक्सिङ भएको पुष्टि भइसकेको छ । सीआईबीको अनुसन्धानपछि सरकारी वकिलको कार्यालयले स्पट फिक्सिङ गरेको आरोपमा १२ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गराइसकेको छ ।
सीआईबीले फिक्सिङको आरोपमा पाँच जनालाई पक्राउ गरेको छ भने ७ जनालाई फरार सूचीमा राखेको छ । फिक्सिङमा भारतीय खेलाडी पनि छन् । ६ जना भारतीयहरुमध्ये १ जना खेलाडी, १ जना व्यवस्थापक, १ जना मिडिलम्यान तथा ब्रोकर, स्पोर्ट टिम स्टाफ १ जना र २ जना सेभेन थ्री स्पोर्टस्का कर्मचार रहेको सीआईबीले जनाएको छ ।
सीआईबीको अनुसन्धानमा स्पट फिक्सिङका लागि एजेन्टहरुले खेलाडीलाई एक बल वापत १० लाख रुपैयाँ दिने प्रस्ताव गरेको प्रमाण नै फेला परेको छ । सीआईबी प्रमुख एआईजी उत्तमराज सुवेदीका अनुसार प्रतिबल ६ लाख रुपैयाँदेखि १० लाख रुपैयाँसम्म दिने प्रस्ताव फिक्सिर एजेन्टले गरेको खुल्न आएको छ ।
सीआईबीले अनुसन्धान सकेर सरकारी वकिलको कार्यालयमा फाइल पेश गरिसकेको छ भने सरकारी वकिल कार्यालयले पनि काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरिसकेको अवस्थामा छ ।
एआईजी सुवेदी आफैमा सफल अनुसन्धानकर्ता हुन् । उनी जनकपुरमा रहँदा बम काण्ड र सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख हुँदा भागरथी भट्टको बलात्कारपछिको हत्यामा सफलतापूर्वक अनुसन्धान गरेका थिए । अहिले सिआईबी प्रमुख हुँदा एआईजी सुवेदीले क्रिकेटको स्पटक फिक्सिङमा पनि सफल अनुसन्धान गरेको आजको खेलमा नेपालले जितेबाट पनि पुष्टि हुन्छ ।
फिक्सिरले भने अनुसार वाइड तथा नो बल फालेबापत बलरलाई १० लाखसम्म दिन तयार हुने तथा ब्याटरलाई समेत रन नहान्न भन्दै फिक्सिङ गर्न प्रस्ताव गर्दै मोटो रकमको प्रस्ताव गरिनुले बेटिङ पनि ठूलो संख्यामा भएको सीआईबीको दाबी छ ।
नेपाल क्रिकेट संघ (क्यान)को रणनीतिक एवं व्यापारिक साझेदार बनेर आयोजकका रूपमा नेपाल भित्रिएको भारतीय निजी कम्पनी सेभेन थ्री स्पोर्टस्को योजनामा फिक्सिङ भएको आरोप छ । त्यसैले पनि कम्पनीका सञ्चालक भने लिग पूरा नहुँदै भारत फर्किएका थिए ।
सीआईबीले कुशलतापूर्वक अनुसन्धान गर्दा नेपाली क्रिकेट जगतमा अब फिक्सिङको सम्भावना कम भएको बुझाइ खेलाडीहरुकै छ । क्रिकेटका एक पूर्व खेलाडी भन्छन्–‘फुटबलमा पनि यस्तो घटना भएको थियो । त्यहि घटना क्रिकेटमा पनि देखियो । तर, सीआईबीको सफल अनुसन्धानले अबका दिनमा यस्तो गलत कार्य नहुनेमा ढुक्क छु ।’
त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले लगातार चौथो जित निकाल्दा आम क्रिकेटप्रेमी खुसीले गदगद् भएका छन् । टीयू क्रिकेट मैदानमा भेटिएका एक दर्शक भन्छन्–‘नेपालले यसरी नै खेल्ने हो भने अबको विश्वकप छनौट खेल्ने अवसर पाउने छ । नेपालमा स्पट फिक्सिङ नहुने हो र राज्यले पनि क्रिकेट खेलाडीको मर्का बुझ्ने हो भने नेपाललाई विश्वकप खेल्न गह्रो हुन्छ जस्तो लाग्दैन ।’
नेपाली खेलाडीहरु आफ्नो खेल कौशल देखाउँदा लगातार चोथो जित निकाल्न सफल भएका हुन् । स्कटल्याण्डसँगको दुबै खेलमा झण्डै हारको अवस्थामा पुगेको नेपालले अन्तिम समयमा मात्रै जित निकाल्न सफल भएको हो । नेपालको जितसँगै यस अघि पनि कतै स्पट फिक्सिङ त हुने गरेको थिएन ? भनेर प्रश्न उठ्न थालेको छ ।
यद्यपी अहिले नेपाली खेलाडीहरुले दिलाएको यो खुसीलाई भने सबैलै प्रशंसा गरिरहेका छन् । अहिले नेपाली क्रिकेट टिमको कप्तानीमा रोहित पौडेल छन् । उनैले आज अर्को एउटा उत्कृष्ट इनिङ खेल्दै नेपाललाई स्कटल्यान्डविरुद्ध महत्वपूर्ण जित दिलाए ।
हारको संघारमा पुगिसकेको टिमलाई उद्दार गर्ने क्रममा उनले नवौं विकेटका लागि करण केसीसँग निर्णायक साझेदारी गरे । लगातार चौंथोपटक टस जितेपछि नेपालले चौंथोपटक नै फिल्डिङ रोजेको थियो ।
सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गर्दै ४ विकेट लिएपछि स्कटल्यान्ड २१२ रनको मध्यम स्कोरमा समेटियो । यसअघि तीन खेलमा विशाल लक्ष्यहरु पछ्याएको नेपालका लागि २१३ रनको लक्ष्य सामान्य ठानिएको थियो ।
तर, बलिङमैत्री पिचमा नेपालका ब्याट्सम्यानहरुले रनका लागि संघर्ष गरे । कुनै पनि ब्याट्सम्यानले सेटल भएर खेल्न नसक्दा नेपाल एक समय २० ओभरको समाप्तिमा ७३/५ को स्थितिमा पुगेको थियो । त्यसपछि कप्तान रोहित पौडेलले एक्लै नेपालको इनिङ डोहोर्याए ।
अर्को इन्डमा एकपछि अर्को विकेट गुमिरहँदा रोहितको साहस र धैर्य गुमेन । अन्ततः नवौं नम्बरमा करण केसीले रोहितसँग ‘म्याचविनिङ पार्टनरसीप’ गरे । करणले आफ्नो स्वभाविक आक्रामकता पन्छाएर संयमित ब्याटिङ गर्दै रोहितलाई साथ दिनु नै आजको जितको मुख्य कारक बन्यो ।
आइसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले क्लिन स्विप गर्दा केहि समयअघि भएको स्पट फिक्सिङले कति असर पार्छ भन्ने कुराको पुष्टी भएको छ । स्पट फिक्सिङकै कारण जित्ने टीमले हार्ने र हार्ने टीमले जित्ने नतिजा आउने गरेकोमा सीआईबीको सफल अनुसन्धानले त्यसलाई रोक्ने प्रष्ट हुुन्छ ।
Leave a Reply