Online Nepal
  • बुधबार, १७ पुष २०८१
  • विकास निर्माण अवरोध हुने गरी फाइल झिकाएका छैनौं : प्रमुख आयुक्त राई

    विकास निर्माण अवरोध हुने गरी फाइल झिकाएका छैनौं : प्रमुख आयुक्त राई

    अनलाइन नेपाल
  • शनिबार, २८ माघ २०७९
  • 633
    SHARES

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले आयोगको अनुसन्धानका कारण विकास निर्माणको काममा अवरोध नभएको बताएका छन् ।

    आयोगको ३२ औ वार्षिकोत्सव कार्यक्रममा बोल्दै प्रमुख आयुक्त राईले यस्तो बताएका हुन् ।



    उनले भने, ‘लामो समयदेखि आयोगले कुनै पनि उजुरीको छानबिनमा सक्कल कागजात मगाउने, काम रोक्का राख्ने, खरिद प्रक्रियामै अनुसन्धान अगाडि बढाउने वा काममा बाधा पुर्‍याउने नगरेको र आगामी दिनमा समेत यस्तो काम नगर्ने स्पष्ट पार्न चाहन्छु ।’



    गत महिना प्रधानमन्त्री कार्यालयमा भएको सचिवहरुको बैठकमा अख्तियारले अनुसन्धानका नाममा हस्तक्षेप गरेको, सक्कलै फाइल मगाई लामो समय रोकेर राख्दा विकासका काम प्रभावित भएको विषय उठेको थियो ।

    प्रमुख आयुक्त राईले यसरी विकास निर्माणका आयोजना प्रभावित हुनेगरी फाइल मगाउने र काम रोक्का राख्ने प्रवृत्ति अन्त्य गरेको लामो समय भइसकेको बताए ।

    उनले आयोगलाई कारण देखाई कुनैपनि विकास निर्माण तथा सेवा प्रवाह गर्ने आफ्नो पदीय जिम्मेवारीवाट विमुख नहुन सार्वजनिक पदाधिकारीहरुलाई चेतावनी समेत दिए ।

    पूर्वाधारहरुको निर्मांणमा बर्षेनी ठूलो रकम खर्च भएपनि गुणस्तर कायम हुन नसकेको र दिगो व्यवस्थापन हुन नसकेर स्रोतको दुरुपयोग भएको भन्दै उनले सरोकारवालाहरुको ध्यानाकर्षण गराए ।

    ढुंगा, गिट्टी, बालुवाको अनुचित उत्खनन् तथा दोहनलाई नियन्त्रण गर्नुपर्ने भएको भन्दै उनले त्यस्ता उजुरीमाथि निर्भिक भएर अनुसन्धान भइरहेको दावी गरे ।

    सरकारी कोषबाट अनुदान लिएर कागजी रुपमा काम भएको देखाउने तर कार्यस्थलमा अस्तित्वसम्म पनि नभेटिने विकास निर्माण भइरहेको भन्दै उनले ती क्षेत्रमा पनि अनुसन्धान भइरहेको बताए ।

    आयुक्त राईले भने, ‘आवश्यक भएपनि, नभए पनि, विकास निर्माण वा अन्य कामका लागि परामर्श सेवा लिने, संभाव्यता अध्ययन र विस्तृत परियोजना प्रतिवेदन तयार गर्ने, तर त्यसलाई प्रयोगमा नल्याइएमा त्यस्तो परामर्श सेवा लिने तर प्रतिवेदन प्रयोगमा नल्याउने पदाधिकारीलाई अनुसन्धानको दायरामा ल्याइनेछ ।’

    सार्वजनिक निकायले हतारमा पूर्वाधार निर्माण गर्ने, विभिन्न यन्त्र उपकरण खरिद गर्ने, तर उपयोगमा नल्याउने भन्दै प्रमुख आयुक्त राईले यन्त्र उपकरण काम नलाग्ने अवस्थामा पुगेको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार