Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

गैरसांसदका रूपमा सिंहदरबार फर्किन रविको दौडधुप,तगारो बन्दै माओवादी

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले गैरसांसदको रूपमा गृहमन्त्री बन्न दौडधुप थालेका छन् । नयाँ नागरिकता लिएसँगै निवर्तमान उपप्रधानमन्त्री एवं गृहमन्त्री लामिछानेले पुनः संवैधानिक जिम्मेवारीमा फर्किन पहल थालेका हुन् ।

सर्वोच्च अदालतको आदेशपूर्वकै जिम्मेवारी लिन उनले आइतबार दिनभर आफ्नो पार्टी र सत्तासाझेदार दलभित्र राजनीतिक वातावरण बनाउन छलफल गरे ।

शुक्रवार सर्वोच्च अदालतले लामिछानेको नागरिकता अवैध भएको ठहर गर्दै चितवन–२ मा उनी उम्मेदवार बन्न नै अयोग्य रहेको फैसला गरेसँगै एकै पटक उनले चार पद गुमाएका थिए ।

जसअनुसार उनले सांसद, उपप्रधान एवम् गृहमन्त्री, संसदीय दलको नेता र पार्टी सभापति पद गुमाएका थिए । नागरिकता प्राप्त गरेसँगै उनी पार्टी सभापतिको भूमिकामा फर्किसकेका छन् ।

लामिछानेले आइतबार प्रधानमन्त्री पुुष्पकमल दाहाल 'प्रचण्ड'लाई भेटेर गैरसांसदको रूपमा ६ महिनासम्म गृहमन्त्री बनाउन प्रस्ताव गरेको स्रोतको दाबी छ । उसो त आइतबार बसेको रास्वपा केन्द्रीय समिति बैठकले गृह मन्त्रालयमा पार्टीको दाबेदारी कायम रहेको निष्कर्ष निकालेको थियो ।

बैठकपछि प्रवक्ता मुकुल ढकालले गृह मन्त्रालय पार्टीले नै पाउनुपर्ने बैठकको निष्कर्ष रहेको र सोहीअनुसार सभापति लामिछानेले दलहरूसँग संवाद गर्ने बताएका थिए ।

सांसद नहुँदै उपप्रधान तथा गृहमन्त्री बन्ने रविको चाहनामा सत्तारुढ गठबन्धनको ठूलो दल नेकपा एमालेको साथ देखिएको छ । तर, माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्ड भने सहमत भइसकेका छैनन् ।

आइतबार साँझ रविसँग भएको भेटमा पनि उनले सत्तारुढ गठबन्धनमा रहेका दलका शीर्ष नेताहरुसँग परामर्श गर्ने आश्वासन मात्र दिए । सत्तासाझेदारमध्येको ठूलो दल एमालेले सरकारको स्थायित्वका लागि पुरानै सहमतिअनुसार गृह मन्त्रालय रास्वपालाई दिनुपर्ने बताएको छ ।

तर, प्रधानमन्त्री प्रचण्ड भने यही मौकामा गृह आफ्नै पार्टीको पोल्टामा पार्ने दाउमा छन् । प्रचण्डले लामिछानेको राहदानी सम्बन्धी विवादको निरूपण नभएसम्म उनलाई सरकारमा ल्याउन नसक्ने संकेत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077