Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

गृहमन्त्रालय गुमाएका रविले अझै छाडेनन् सरकारी निवास

काठमाडौं । सर्वोच्च अदालतको आदेशपछि गृहमन्त्री पद गुमाएका रवि लामिछानेले सरकारी निवास भने अझै छाडेका छैनन्।

सरकारी गाडी त्यसै दिन छाडेका उनले निजी सवारीमा सुरक्षाकर्मी लिएर हिँडिरहेका हुन् । शुक्रबारदेखि नै हरिहरभवनस्थित सरकारी निवासमा नगएका रविले निवासमा रहेका आफ्ना सामान भने सारेका छैनन् ।

नागरिकता वैधानिक नभएसँगै उनले सबै वैधानिकता गुमाउने भए पनि पूर्व गृहमन्त्रीले पाउने सुरक्षा अझै लिइरहेका छन्। सुरक्षा स्रोतका अनुसार उनले आफ्ना लगाउने कपडा त्यसै दिन गाडीमा लगेका भएपनि निवास भने छाडेका छैनन् ।

यता निवास नछाडेका रविले पुनः गृहमन्त्रीकै रुपमा फर्किन जोड गरिरहेका छन्। शुक्रबारको फैसलाको पूर्णपाठ आइसकेको छैन। फैसलाको पूर्णपाठमा उनको नागरिकता र राहदानीबारे विस्तृत खुल्ने भए पनि त्यसअघि नै उनले गृहमै फर्किन जोड गरिरहेका छन्।

रविलाई पुनः गृह मन्त्रालय दिने कि नदिने भन्ने विषयमा पनि सत्ता साझेदार दलहरुबीच सहमति भइसकेको छैन। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड गृह मन्त्रालय माओवादीले नै लिनुपर्ने पक्षमा छन्।

नेकपा एमाले भागबन्डाअनुसार गृह रास्वपालाई नै दिनुपर्ने र त्यसमा पनि लामिछानेलाई नै पुनः नियुक्त गर्नुपर्ने पक्षमा छन् । लामिछानेले हिजै आफ्नो नेपाली नागरिकता पुनः कायम गरिसकेपछि उनलाई गैर संसदका रूपमा मन्त्री नियुक्त गर्न कानूनी अड्चन नरहेको एमाले बुझाइ छ ।

तर, प्रधानमन्त्री प्रचण्ड भने यही मौकामा गृह आफ्नै पार्टीको पोल्टामा पार्ने दाउमा छन् । लामिछाने हिजो पार्टी सभापतिमा पुनर्स्थापित भएसँगै प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगेका थिए ।

उक्त भेटघाट लामिछानेले आफू फेरि गृहमन्त्री बन्ने आकांक्षा प्रस्तुत गरेको तर प्रचण्डले सकारात्मक जवाफ नदिएको स्रोतले बतायो । प्रचण्डले लामिछानेको राहदानी सम्बन्धी विवादको निरूपण नभएसम्म उनलाई सरकारमा ल्याउन नसक्ने संकेत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077