काठमाडौं । नेपाल मजदूर किसान पार्टी (नेमकिपा)ले नेपाली कांग्रेसको प्रमुख विपक्षी दलको हैसियतमाथि प्रश्न उठाएको छ । नेमकिपाका सांसद प्रेम सुवालले कांग्रेसलाई प्रमुख प्रतिपक्ष दल मान्ने आधार नभएको बताएका हुन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने कांग्रेस प्रमुख प्रतिपक्ष दल हुन नसक्ने जिकिर गर्दै सांसद सुवालले प्रतिपक्ष दलको नतोकी संसद् बैठक सुरु नगर्न सदनको ध्यानाकर्षण गराए ।
सभामुख निर्वाचनको प्रयोजनका लागि बुधबार बोलाइएको प्रतिनिधिसभा बैठकमा सांसद सुवालले आफ्नो दल नै सबैभन्दा ठूलो प्रतिपक्षी दल भएको पनि बताए । उनले नेमकिपालाई प्रमुख प्रतिपक्षी दल तोकेर मात्र संसद्को बैठक सुरु गर्न पनि सभाध्यक्षको ध्यानाकर्षण गराए ।
उनले संसद्को अधिकार सर्वोच्चमा पठाउन नहुने भन्दा संसद्ले बनाएको कानून आफैं उल्लंघन गर्न नमिल्ने बताए ।
सुवालले एमाले अध्यक्ष केपी ओलीले नै कांग्रेस सरकारको सहयोगी दल रहेको भनिसकेको र विश्लेषकहरूले पनि कांग्रेस विपक्षी दलको हैसियतमा रहन नसक्ने भनेको कुरालाई उनले उठाएका हुन् ।
उनले शेरबहादुर देउवालाई विपक्षी दलको नेताको हैसियतमा नराख्न समेत ध्यानाकर्षण गराए ।