Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भीम रावलको चेतावनी - देशलाई मूल्यहीन राजनीतितर्फ धकेलेर असफल तुल्याउने कुचेष्टा नहोस्

काठमाडौं । पूर्वमन्त्री तथा नेकपा एमालेका नेता डा. भीम रावलले देशलाई पद्धतिहीन, सिद्धान्तहीन र मूल्यहीन राजनीतितर्फ धकेलेर असफल तुल्याउने कुचेष्टा नगर्न चेतावनी दिएका छन् ।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकारलाई विश्वासको मत दिएपछि नेता रावलले ट्वीटरमार्फत यस्तो चेतावनी दिएका हुन् । विश्वासको मत दिएर कांग्रेसले द्वैध चरित्र देखाएकोसमेत उनको आरोप छ ।

'सरकारलाई नेपाली कांग्रेसले एकातर्फ विश्वासको मत दिएर सरकारको समर्थन गर्ने र अर्कोतर्फ विपक्षमा रहने कुरा गरेर द्वैध चरित्र देखाउदै नेपालको संविधानले परिकल्पना गरेको बहुदलीय प्रतिस्पर्धात्मक पद्धतिको उल्लंघन भएको छ,' उनले भने,'नेपालको संविधानमा कथित राष्ट्रिय सरकार वा प्रतिपक्ष विहीन संसदको व्यवस्था र परिकल्पना दुबै छैन । अब नेपाली कांग्रेससंग अलिकति पनि राजनीतिक नैतिकता र प्रजातान्त्रिक संस्कार छ भने उसले सत्ता पक्षको स्थानमा बस्नु पर्छ र संविधानको धारा २८४ मा रहेको संवैधानिक परिषद्को सदस्यमा प्रतिनिधि सभामा रहेका प्रधानमन्त्रीलाई मत नदिने वास्तविक प्रतिपक्षका लागि खालि गर्नुपर्छ ।'

अन्यथा नेपाली कांग्रेस नै यस देशको स्थापित पद्धति र राजनीतिक मूल्य नष्ट गर्ने मूल दल भएको नेपाली जनताले बुझ्ने उनको भनाई छ । विश्वासको मत दिदै सत्ता पक्षीय अनुहार देखाएर अन्य कुनै षडयन्त्रको सपना कांग्रेसले देखेको हो भने त्यो झनै अनिष्टकारी हुने उनले बताए ।

'हुनत प्रतिनिधि सभामा देखिएको खेल आम निर्वाचनमा देखिएको सिद्धान्तहीन गठबन्धन र सरकार निर्माणमा देखिएको पद उन्मुख अवसरवाद कै जारी रुप हो,' उनले भने, 'यस्ता गतिविधिले लोकतान्त्रिक प्रणालीलाई स्वच्छ र बलियो बनाउनबाट रोक्नुका साथै संसारले नेपालमा कस्तो राजनीतिक प्रणाली हो भन्ने प्रश्न गर्ने स्थिति सिर्जना हुन्छ ।

राजनीतिक दर्शन, सिद्धान्त र कार्यक्रमको दृष्टिबाट मुख्य प्रतिस्पर्धि भई विपरीत सिद्धान्त र मान्यता भएका दलहरु चुनाव र सरकारमा प्रतिस्पर्धा त्यागेर एक अर्कालाई समर्थन गर्ने बाटोमा जाने हो भने बहुदलीय प्रतिस्पर्धा भन्नु निरर्थक छ, निर्दलीय व्यवस्थातर्फ गएर सोही अनुसारको व्यवस्था संविधानमा गर्नुपर्‍यो ।'

'बहुदलीय प्रणालीमा राजनीतिक आस्था र कार्यक्रमको आधारमा जनतालाई दल छान्ने अवसर प्राप्त हुन्छ । देशलाई पद्धतिहीन सिद्धान्तहीन र मूल्यहीन राजनीतितर्फ धकेलेर असफल तुल्याउने कुचेष्टा नहोस्,' उनले ट्वीटरमा उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077