काठमाडौं । त्रिभुवन विमानस्थल भन्सार कार्यालयले यात्रुबाट जफत भएका १५१ वटा मोबाइल सेट लिलामी बिक्रीमा राखेको छ ।
मोबाइलधनी समयमै भन्सार शुल्क बुझाउन नआएपछि विमानस्थल भन्सारको मुद्दा तथा लिलामी शाखाले मोबाइलहरु लिलामी बिक्रीका लागि सूचना जारी गरेको हो ।
यात्रु जाँचपासका क्रममा अवैध ल्याइएका मोबाइल फोनहरु विमानस्थलले तोकिएको समयभित्र सम्बन्धित धनी सम्पर्कमा नआएमा त्यस्ता मोबाइल भन्सारले लिलामी बिक्रीका लागि राख्ने गरेको छ ।
भन्सार कार्यालयद्वारा जारी सूचनामा भनिएको छ, ‘भन्सार नियमावली २०६४ को नियम ३५ को उपनियम २ मा भएको व्यवस्थाअनुसार शिलबन्दीको माध्यमद्वारा लिलाम बिक्री गर्नुपर्ने भएकाले इच्छुक संस्थाद्वारा यो सूचना प्रकाशन भएको मितिले १५ दिनभित्र गोप्य शिलबन्दी दरभाउपत्र आहृवान गरिएको छ ।’
लिलामी बिक्रीका लागि राखिएका ती १५१ मोबाइलको न्यूनतम मूल्य ९३ लाख ५४ हजार रुपैयाँ तोकिएको छ । लिलामीको ती मोबाइल खरिद गर्न चाहनेले भन्सार कार्यालयमा गई हेर्न सक्नेछन् ।
विदेशबाट फर्किने नेपाली नागरिकले आफूले चलाइरहेको मोबाइल मात्र ल्याउन पाउने व्यवस्था छ । सोभन्दा बढी ल्याएमा भन्सार शुल्क तिर्नुपर्दछ । गोप्य शिलबन्दीमार्फत बढी मूल्य तिर्ने फर्म तथा संस्थाले ती फोन खरिद गर्न पाउने छन् ।
Leave a Reply