काठमाडौं । विद्युतीय माध्यमको कारोबारलाई सरकारी प्रोत्साहन र सर्वसाधारणको आकर्षणका कारण बजारमा नोटको चलनचल्ती घट्दै गएको छ । विद्युतीय भुक्तानी उपकरण प्रयोगकर्ताको संख्या र कारोबार बढ्दै गएको देखिएको छ ।
यसले बजारमा प्रचलनमा रहेका नोट कमी हुँदै गएको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । राष्ट्र बैंकका अनुसार २०७९ मङ्सिर मसान्तसम्ममा बजारमा ६ खर्ब १६ अर्ब रुपैयाँ बराबरको नोट चलनचल्तीमा छन् । २०७८ मङ्सिरमा ६ खर्ब ५४ अर्बको नोट चलनचल्तीमा रहेकोमा १ वर्षमा ३८ अर्ब रुपैयाँले कमी आएको देखिएको छ ।
राष्ट्र बैंकको तथ्यांकलाई विश्लेषण गर्दा आर्थिक वर्ष २०७८/७९ को शुरूका ५ महीनामा प्रतिमहीना औसत ६ खर्ब ७१ अर्ब रुपैयाँ बराबरको नोट प्रचलनमा रहेकोमा चालू आव २०७९/८० को मङ्सिरसम्ममा प्रतिमहीना औसत नोटको प्रचलन ६ खर्ब १७ अर्ब रुपैयाँ रहेको छ ।
२०७९ कात्तिकको तुलनामा पनि मङ्सिरमा चलनचल्तीमा रहेको नोट १५ अर्ब रुपैयाँले घटेको छ । कात्तिक मसान्तमा बजारमा ६ खर्ब ३१ अर्ब रुपैयाँ बराबरको नोट चलनचल्तीमा थियो ।
राष्ट्र बैंकको मासिक वित्तीय विवरणअनुसार प्रत्येक महीना अघिल्लो वर्षको भन्दा चलनचल्तीमा रहेका नोटको संख्या घटेको देखिन्छ । दशैंतिहारजस्ता चाडपर्वका कारण असोजमा नोटको चलनचल्ती बढेको देखिए पनि त्यसपछिका महीनामा घट्दै गएको देखिन्छ ।
राष्ट्र बैंकले हरेक वर्ष दशैंमा नयाँ र खुद्रा नोट बजारमा पठाउने गरेको छ । चाडपर्वमा बढी खर्च हुने भएकाले पनि नोटको प्रचलन बढी हुने गर्छ । यस वर्ष पनि राष्ट्र बैंकले १६ अर्ब रुपैयाँ बराबरको खुद्रा नोट सटही गरेको थियो ।
त्यसबाहेक ३५ अर्ब बजारमा नोट वृद्धि भएको थियो । कात्तिकपछि भने चलनचल्तीमा रहेका नोट बैंकिङ प्रणालीमा फिर्ता हुन थालेको छ । यस वर्ष कात्तिक र मङ्सिरमा गरी चलनचल्तीमा रहेका नोटमा ३३ अर्बले कमी आइसकेको छ । अभियान दैनिकबाट
Leave a Reply