काठमाडौं । नेकपा माओवादी केन्द्रका उप–महासचिव वर्षमान पुन ‘अनन्त’ले आफू सरकारमा सहभागी नुहने बताएका छन्।
आइतबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका नेता पुनले युवा नेताहरुसँगको छलफलका क्रममा सो कुरा बताएका हुन्।
उनले अहिले आफ्नो सम्पूर्ण ध्यान पार्टीलाई बलियो बनाउने रहेको बताए । नेता पुनले भने, ‘अहिले मन्त्री बन्ने बेला होइन । म सरकारमा जान्नँ । त्यसैले मेरो सम्पूर्ण ध्यान पार्टी बलियो बनाउने र यसलाई पुनर्जीवित गर्ने हो।’
पार्टीका युवा नेताहरूलाई सरकारमा पठाएर आफूहरू पार्टी निर्माण र सरकारलाई सफल पार्ने अभियानमा जुट्ने उनले बताए ।
माओवादी पार्टीले नै नेपाली जनताको मुक्ति र रूपान्तरणका मुद्दाहरूका लागि लामो संघर्ष गरेको बताउँदै नेता पुनले इतिहासले सुम्पेको जिम्मेवारी पुरा नगर्दासम्म व्यक्तिगत चाहना र स्वार्थलाई तिलाञ्जली दिनुपर्नेमा जोड दिए।
नेपाली जनताका कैयन अपेक्षाहरू पूरा गर्न सरकारले सुरुको दिनदेखि नै उल्लेख्य र सकारात्मक सन्देश दिने काम गरेको उनले बताए।