काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' आज पोखरा जाँदै छन् । आजदेखि सञ्चालनमा आउने पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको औपचारिक उद्घाटनका लागि प्रधानमन्त्री प्रचण्ड पोखरा जान लागेका हुन् ।
प्रधानमन्त्री प्रचण्ड बिहान ११ बजे पोखरा पुग्ने कार्यक्रम रहेको नेपाल नागरिक उड्डयन प्राधिकरण पोखराका प्रमुख विक्रम गौतमले दिए ।
उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेल पनि पोखरा पुग्ने कार्यक्रम छ । प्रमुख गौतमका अनुसार प्रधानमन्त्री प्रचण्डले ताम्रपत्र अनावरण गर्दै विमानस्थलको शुभारम्भ गर्नुहुनेछ ।
विमानस्थल शुभारम्भकै अवसरमा बिहान १० बजे पोखरा महानगरपालिकाद्वारा अमरसिंहचोकबाट विमानस्थलसम्म र्याली आयोजना गरिएको छ । र्यालीका सहभागी अमरसिंहचोकबाट विमानस्थलसम्म पुगेर बिहान ११ बजे हुने उद्घाटन समारोमा सहभागी बन्नेछन् ।