Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

आयोगद्धारा प्रतिनिधि र प्रदेशसभा चुनावको अन्तिम परिणाम सार्वजनिक

काठमाडौं । निर्वाचन आयोगले मंसिर ४ गते भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको अन्तिम परिणाम बुधबार सार्वजनिक गरेको छ ।

प्रत्यक्ष र समानुपातिक निर्वाचनतर्फको परिणाम आयोगले तीन सातापछि सार्वजनिक गरेको हो । आयोगले प्रतिनिधिसभा तर्फ १६५ प्रत्यक्ष र समानुपातिकतर्फ ११० सिट तथा प्रदेशसभा तर्फ ३३० र २२० सिटको परिणाम सार्वजनिक गरेको छ ।

निर्वाचनमा सात राजनीतिक दलले राष्ट्रिय मान्यता पाएका छन्। संसदमा १२ राजनीतिक दलको प्रतिनिधित्व हुनेछ ।नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र,राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेपाल जनमत पार्टी राष्ट्रिय पार्टी बनेका छन् ।

यीमध्ये राष्ट्रिय स्वतन्त्र पार्टी र नेपाल जनमत पार्टी नयाँ राजनीतिक दलका रुपमा उदाएका हुन् । संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस बनेको छ । कांग्रेसले प्रत्यक्ष र समानुपातिक गरी ८९ सिट जितेको छ । प्रत्यक्षतर्फ ५७ र समानुपातिकतर्फ ३२ सिट जितेर कांग्रेस संसदको ठूलो दल बनेको छ ।

यस्तै, नेकपा एमाले संसदमा प्रतिनिधित्व गर्ने दोस्रो ठूलो दल बनेको छ । एमालेका प्रत्यक्षतर्फ ४४ र समानुपातिकमा ३४ गरी कूल ७८ सांसद बनेका छन् ।

माओवादी केन्द्रका ३२ सांसदले संसदमा प्रतिनिधित्व गर्नेछन् । माओवादीबाट प्रत्यक्षमा १८ र समानुपातिकमा १६ गरी ३२ सांसद संसदमा सहभागी हुनेछन् । तीमध्ये महेन्द्र राय यादव नेपाल समाजवादी पार्टीका हुन् । उनले माओवादी केन्द्रको चिन्ह हँसिया हथौडा लिएर निर्वाचन जितेका हुन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका २० जना, राष्ट्रिय प्रजातन्त्र पार्टीका १४ जना सांसदले संसदमा प्रतिनिधित्व गर्नेछन् । रास्वपबाट ७ सांसद प्रत्यक्ष र १३ सांसद समानुपातिकतर्फ चुनिएका छन् । राप्रपाबाट ७ जना प्रत्यक्ष र ७ जना समानुपातिकतर्फ निर्वाचित भएका छन् ।

जनता समाजवादी पार्टीका १२ जना, यस्तै, नेपाल जनमत पार्टीका ६ जनाले संसदमा सहभागी जनाउनेछन् । जसपाबाट ७ जना प्रत्यक्ष र ५ जना समानुपातिक तर्फबाट समेटिएका छन् ।

नेकपा एकीकृत समाजवादीका १० जना सांसदले प्रतिनिधित्व गर्नेछन् । नागरिक उन्मुक्ति पार्टीका ३ जना, स्वतन्त्र तर्फका ५ जना, नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चाका १/१ जनाले संसदमा प्रतिनिधित्व गर्नेछन् ।

आयोगले बिहीबार राष्ट्रपतिलाई प्रतिवदेन बुझाउने र पुस २ गते आयोग पदाधिकारीले सातै प्रदेशमा प्रदेश प्रमुखलाई प्रतिवेदन बुझाउने प्रमुख निर्वाचन आयुक्त दिनेश थपिलयाले बताए । प्रतिवेदन राष्ट्रपति र प्रदेश प्रमुखसमक्ष बुझाएपछि राजपत्रमा प्रकाशित हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077