काठमाडौं । नवनिर्वाचित सांसद तथा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाहीले सरकारले ल्याएको अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीबाट अविलम्ब फिर्ता हुनुपर्ने माग गरेका छन् ।
मंगलबार पत्रकार सम्मेलन गर्दै शाहीले राष्ट्रपति कार्यालय पुगेको उक्त अध्यादेश राष्ट्रपतिबाट फिर्ता हुनुपर्ने बताएका हुन् ।
उनले वर्तमान सरकार कामचलाउ सरकार भएकोले जघन्य अपराधमा संलग्नहरुलाई उन्मुक्ति दिने उद्देश्यले अध्यादेश ल्याउनु आपत्तिजनक भएको बताए ।
शाहीले भने,‘मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा जनताबाट ताजा जनादेश आइसकेको र केही दिनभित्र संसद बैठक सुरु हुने वर्तमान पृष्ठभूमिमा अहिलेको कामचलाऊ सरकारले गलत मनसायका साथ
राजनीतिक आवरणमा जघन्य अपराधमा संलग्नहरुलाई उन्मुक्ति दिने उद्देश्यले अध्यादेश ल्याउनु अनैतिक र आपत्तिजनक विषय मात्रै नभएर स्वार्थपूर्ण र सत्ता केन्द्रित राजनीतिको फोहोरी खेलको सुरुवात हो ।’
उनले अहिले सरकारबाट राष्ट्रपति कार्यालय पुगेका उक्त अध्यादेशले कुनैपनि अपराधबाट छुट पाउन राजनीतिक खोल ओढ्नुपर्छ भन्ने सन्देश दिएको पनि टिप्पणी गरे । उनले सरकार बनाउनकै लागि जे पनि गर्नु गलत हुने भन्दै अहिले आएको अध्यादेश देशको हितमा नभएको जिकिर गरे।
Leave a Reply