काठमाडौं । यही मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावमा ५ दशमलव ०६ प्रतिशत मत बदर भएको छ । निर्वाचन आयोगका अनुसार मङ्सिर ४ गते सम्पन्न चुनावमा खसेको मतको ५ दशमलव ०६ प्रतिशत मत बदर भएको हो ।
प्रदेश सभाको समानुपातिकतर्फको मत सबैभन्दा बढी बदर भएको निर्वाचन आयोगका उपसचिव कमल भट्टराईले जानकारी दिए । उनले प्रदेश सभाको समानुपातिकतर्फ औसतभन्दा बढी ६ दशमलव ५५ प्रतिशत मत बदर भएको बताए ।
त्यस्तै सबैभन्दा कम प्रदेश सभाको प्रत्यक्ष निर्वाचन प्रणालीतर्फको मत बदर भएको उपसचिव भट्टराईले बताए । प्रदेश सभामा प्रत्यक्ष निर्वाचन प्रणालीतर्फको बदर मत प्रतिशत ४ दशमलव ०७ प्रतिशत रहेको छ ।
उपसचिव भट्टराईका अनुसार प्रतिनिधि सभाको प्रत्यक्षतर्फ ५ दशमलव ०६ प्रतिशत मत बदर भएको छ भने प्रतिनिधि सभाको समानुपातिकतर्फ ५ दशमलव ०९ प्रतिशत मत बदर भएको छ ।