धनुषा । प्रहरी प्रधान कार्यालयले धनुषाका प्रहरी उपरीक्षक (एसपी) वसन्त रजौरेमाथि विभागीय कारबाही गर्न निर्देशन दिएको छ । मातहतमा राम्रो कमाण्ड गर्न नसकेको भन्दै मधेस प्रदेश प्रहरीलाई रजौरेमाथि विभागीय कारबाही गर्न प्रधान कार्यालयले निर्देशन दिएको हो ।
उनलाई प्रहरी महानिरीक्षक (आईजीपी) धीरजप्रताप सिंहले मधेस प्रदेशका प्रहरी प्रमुख मसउद आलम खाँलाई निर्देशन दिएका हुन् । पछिल्लो केही महिनायता मधेसका सीमानाकामा विकृति बढेको उजुरी प्रहरी प्रधान कार्यालयमा परेको प्रहरी स्रोतले बतायो ।
प्रदेशस्तरीय सुरक्षास्तरीय गोष्ठी चलिरहेकै वेला गत साता धनुषामा कार्यरत प्रहरी नायब निरीक्षक घुससहित पक्राउ परेका थिए । नगराइन नगरपालिका–२ जटहीस्थित पसलबाट चार हजार घुस लिँदै गर्दा नायब निरीक्षक देवकीलाल चौधरीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले १७ कात्तिकमा रंगेहात पक्राउ गरेको थियो ।
त्यसवेला गृहमन्त्री बालकृष्ण खाण, गृहसचिव विनोदप्रकाश सिंह, आइजिपी सिंहलगायत उच्च प्रहरी अधिकारी सुरक्षा गोष्ठीका लागि धनुषामै पुगेका थिए । मातहतमा राम्रो कमान्ड गर्न नसकेको भन्दै एसपी रजौरेमाथि कारबाही गर्न सुरक्षा सम्मेलनपछि महानिरीक्षक सिंहले निर्देशन दिएको प्रहरीले स्रोतले बतायो ।
Leave a Reply