रोल्पा । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले एमाले अध्यक्ष केपी ओली अझै संविधान, लोकतन्त्र र व्यवस्था मास्ने अभियानमा सक्रिय रहेको बताएका छन् ।
गृह जिल्ला रोल्पाको सुलैचौधरमा लोकतान्त्रिक वाम गठबन्धनको चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै पुनले यस्तो बताएका हुन् । ओलीले राजावादी र विखण्डनकारीहरूको अपवित्र गठबन्धन बोकेर चुनावमा भोट माग्दै हिँडेको आरोप पुनले लगाए ।
आफूहरूले विगतमा ओलीबारे गर्दै आएको टिप्पणी उनको चुनावी गठबन्धनमा रहेका दल र व्यक्तिहरूका अनुहार र चरित्रबाट प्रस्ट भएको पुनको भनाइ थियो ।
पुनले भने, ‘आज फेरि प्रतिगामी सोच राख्नेहरू, संविधानमाथि पटकपटक प्रहार गर्नेहरू चुनावी गठबन्धनका नाममा जुरमुराई रहेका छन् । लोकतान्त्रिक वाम गठबन्धनविरुद्ध अपवित्र खालको गठबन्धन बनेको छ।’
पुनले केपी ओलीले जनताले स्थायित्व र विकासका लागि ०७४ को निर्वाचनमा दिएको जनमतमाथि अपमान गर्दै दुई पटकसम्म प्रतिनिधिसभा विघटन गरेपछि त्यसको प्रतिवादका लागि गठबन्धन निर्माण गरेको बताए ।
स्थानीय निर्वाचनमा गरिएको गठबन्धनले देशैभर राम्रो परिणाम आएको र त्यसले धेरै हदसम्म प्रतिगमनलाई कमजोर बनाउने काम गरेको भन्दै यसपटककको चुनावी परिणामले प्रतिगमनले घुँडा टेक्ने बताए ।
Leave a Reply