Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

निर्वाचन आचारसंहिता अनुगमन अधिकृतलाई सुरक्षा माग गर्दै आयोगद्वारा प्रहरीलाई पत्रचार

काठमाडौं । पर्सामा निर्वाचन आचारसंहिता अनुगमन अधिकृतका रूपमा खटिएका प्रमुख कोष नियन्त्रक रूद्रबहादुर कार्कीलाई सुरक्षा दिन निर्वाचन आयोगले प्रहरीलाई आग्रह गर्दै पत्र पठाएको छ ।

आयोगले जिल्ला प्रहरी कार्यालय पर्सालाई पत्र पठाएर निर्वाचन अनुगमन अधिकृत कार्कीलाई सुरक्षा दिन आग्रह गरेको हो ।कार्कीलाई पर्सा क्षेत्र नम्बर ४ प्रतिनिधि सभा सदस्यका उम्मेदवार रहेका नेपाली कांग्रेसका रमेश रिजालले धम्की दिएको आयोगले जनाएको छ ।

उक्त पत्रमा रिजालबाट कार्कीलाई फोनमार्फत धम्की दिएको तथा गालीगलौज गरेको भन्ने लिखित उजुरी प्राप्त भएकाले कार्कीको आवश्यक सुरक्षा प्रबन्ध तत्काल मिलाइ उम्मेदवार रिजालका आचारसंहिता विपरीतका गतिविधि उपर आवश्यक निगरानी गरी आयोगमा प्रतिवेदन पेश गर्न भनिएको छ ।

निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को दफा २० को उपदफा (१) को खण्ड (घ) अनुसार निर्वाचनमा संलग्न कर्मचारीलाई धाक, धम्की वा डर, त्रास देखाउन हुँदैन । सोही ऐनको उपदफा (४) मा त्यस्तो कसुर गर्ने व्यक्तिलाई एक लाख रुपैयाँसम्म जरिवाना वा दुई वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ ।

आयोगले ती व्यवस्थाका साथै निर्वाचन आचारसंहिता, २०७९ को दफा (४) को खण्ड (ढ) मा निर्वाचनको विश्वसनीयतामा वा आयोग, आयुक्त वा कर्मचारीको प्रतिष्ठानमा प्रतिकूल असर पर्ने गरी कुने अवाञ्छित लाञ्छना लगाउन नहुने व्यवस्थाहरूबारे स्मरण गराएको छ ।

सो दफाको खण्ड (ण) मा कसैको चरित्र हत्या गर्न, व्यक्तिगत लाञ्छना लगाउन, मानहानी गर्न वा यस्तै प्रकृतिका सामग्री कुनै स्वरुपमा उत्पादन गर्न तथा त्यस्ता सामग्री कुनै माध्यमबाट प्रकाशन वा प्रसारण गर्न नहुने व्यवस्था रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077