काठमाडौं । निर्वाचन आयोगका आयुक्त सगुन शमशेर जबराले निर्वाचन आचारसंहिता उल्लङ्घन भइरहे आयोग चुप लागेर नबस्ने बताएका छन् ।
निर्वाचन आयोग र नेपाल कानुन समाजद्वारा जनकपुरधाममा आयोजित ‘प्रतिनिधि सभा तथा प्रदेशसभा निर्वाचन, २०७९ः निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयन र सरोकारवालाको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा आयुक्त जबराले निर्वाचन आचारसंहिता पालना गर्न सबै पक्ष गम्भीर हुनुपर्नेमा जोड दिदैँ सो कुरा बताएका हुन् ।
निर्वाचन आयोगका आयुक्त जबराले मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र विश्वसनीय बनाउन राजनीतिक दल, उम्मेदवार, सञ्चारमाध्यम, सुरक्षाकर्मीलगायत सबै सरोकारवालाहरूको हातोमालो आवश्यक भएको बताए ।
आयुक्त जबराले निर्वाचन आयोगको एक्लो प्रयासबाट मात्र निर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष र विश्वसनीय रुपमा सम्पन्न हुन नसक्ने भएकाले यसमा सबै पक्षको सहयोग आवश्यक रहेको बताए ।
‘निर्वाचन आयोगले मात्र भयरहित वातारणमा स्वच्छ, स्वतन्त्र, निष्पक्ष र विश्वसनीय निर्वाचन गराउन सक्दैन’, उनले भने, ‘यसमा राजनीतिक दल, उम्मेदवार, सञ्चारमाध्यम, सुरक्षाकर्मीलगायत सबै सरोकारवालाहरूको हातोमालो जरुरी छ ।’
उनले निर्वाचन क्षेत्रमा मतदाता, मतदान केन्द्र र भूगोललाई आधार बनाएर उम्मेदवारहरूको खर्च सीमा तोकेको स्पष्ट पार्दै आयुक्त जबराले चुनाव लड्ने, खर्च गर्ने तर आयोगमा खर्च विवरण नबुझाउनेहरूमाथि आयोगले कारबाही गरेको बताए ।
यस्तै आयोगका सहसचिव यज्ञप्रसाद भट्टराईले आयोगले तोकेको खर्च सीमामै रहेर उम्मेदवारहरूले खर्च गर्नुपर्ने बताउँदै आचारसंहिता विपरीतको कार्य भएको उजुरी आएमा तत्काल अनुसन्धान गरी कारबाही गर्ने चेतावनी दिए ।