Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रावलले ओलीलाई फर्काए जवाफ - म ६७ वर्षको बुढो भए, ७० काटेका तपाईं कसरी तन्नेरी ?

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार कञ्चनपुरको चुनावी सभामा आफूबारे दिएको अभिव्यक्तिलाई लिएर नेता भीम रावलले प्रतिवादमा उत्रिएका छन् । चुनावी सभाका क्रममा ओलीले रावलको आलोचना गरेपछि रावलले जवाफमा पाँचवटा प्रश्न तेर्स्याएका हुन् ।

सभामा ओलीले डडेलधुरामा कांग्रेस बीपीबाट उम्मेदवार भएका कर्ण मल्ललाई मत दिन एमाले पंक्तिलाई निर्देशन दिइरहँदा दर्शकदिर्घाबाट भीम रावलको नाम उच्चारण भएपछि ओलीले केही आक्रोशित हुँदै रावल बुढो भएको टिप्पणी गरेका थिए ।

‘भीम रावलको तपाईंलाई किन चिन्ता प¥यो ? ०४८ सालदेखि एकछिन् मुख खाली छैन। बुढो भइसक्नुभयो। बेकार किन भीम रावलको चिन्ता, अरुलाई पालो दिनुपर्दैन ? एउटै भीम रावल, भीम रावल। केको खेती गरिराख्या ? के भीम रावल ? थुप्रो रावलहरू हुनुहुन्छ सुदूरपश्चिममा । थुप्रो रावलहरूलाई अगाडि बढाइन्छ,’ उनले कञ्चनपुरको चुनावी सभामा भने ।

रावलले शुक्रबार राति सामाजिक सञ्जालबाट ओलीभित्र बलिरहेको क्रोध, बदला, निषेध र द्वेषपूर्ण दुर्भाव उदांग भएको बताए । ‘म ६७ वर्ष लागेकालाई ‘बुढो’ भन्ने हो भने ७० वर्ष काटिसकेका ओलीजी फेरि सांसद र प्रधानमन्त्रीका लागि कसरी तन्नेरी हुनुभयो ? मभन्दा उमेर बढी भएका अरुलाई उम्मेदवारका लागि किन सहमति दिनुभयो ? भन्दै नेता रावलले प्रश्न गरे ।
यी हुन् ओलीलाई भीम रावलले गरेका पाँच प्रश्न

१) मलाई ४८ सालमा तत्कालीन महासचिव मदन भण्डारी र नेता माधव नेपालले चुनाव नजितिने भएपनि हाम्रा मतहरू सुरक्षित गर्न अछाममा गएर लड्नुहोस् भन्दा म तयार भएँ । तर सांसद ०५१ सालदेखि मात्र भएँ । ओलीजी ०४८ सालदेखि सांसद, मन्त्री, पार्टी अध्यक्ष र प्रधानमन्त्री हुनुभएको छ । कहिल्यै 'मुख खाली छैन' र फेरि पनि “खानूको लागि मुख किन बाउनुभएको त ?

२) म ६७ वर्ष लागेकालाई “बुढोू भन्ने हो भने ७० वर्ष काटिसकेका ओलीजी फेरि सांसद र प्रधानमन्त्रीका लागि कसरी तन्नेरी हुनुभयो ? म भन्दा उमेर बढी भएका अरूलाई उमेदवारका लागि किन सहमति दिनुभयो ?

३) हो, अरूलाई पालो दिन पार्टीले मापदण्ड बनाएमा सबैले मान्नुपर्छ । तर अरूलाई पालो दिनुपर्ने भए ओलीजी र सचिवालय तथा स्थायी कमिटीका अनेकौँ पदमा रहेका र अनेकौँपटक सांसद र मन्त्री भएका व्यक्तिका हकमा अरूलाई पालो दिनुपर्ने भन्ने किन लागु नहुने त ?

४) ओलीजीले थर विशेषलाई पनि उल्लेख गरी सुदूरपश्चिममा थुप्रै रावल भएका र तिनलाई अगाडि बढाउने भन्दै व्यक्तिगत रूपमा अपमान हुनेगरी बोल्नुभएको रहेछ । स्मरण होस् अछाम जिल्लालगायत देशका विभिन्न भागमा ब्राह्यमण र क्षेत्री गरी थुप्रै ओलीहरू पनि छन्, तिनलाई एमालेमा तत्काल पार्टी अध्यक्ष र प्रधानमन्त्री नबनाउने त ?

५) पार्टी अध्यक्ष र प्रधानमन्त्री भइसकेको व्यक्तिबाट मञ्चमा भाषण गर्दैगर्दा प्रदर्शन गरिएको उत्तेजनाले अछामी जनताको तर्फबाट भएको निर्णय उल्ट्याउनुको रहस्यको एउटा पर्दा उघ्रेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077