काठमाडौं । आउँदाे मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि आवश्यक मतपत्र छपाइकाे काम सकिएकाे छ ।
चुनावका लागि प्रत्यक्षतर्फको आवश्यक सबै मतपत्रकाे छपाइ कार्य सम्पन्न भएको निर्वाचन आयोगले जनाएको हो ।
आयोगले जनक शिक्षा सामग्री केन्द्रलाई प्रत्यक्ष निर्वाचनतर्फका मतपत्र छपाउन दिएको थियो। आयोगले दिएको २० गतेसम्मको समयसीमा भन्दा दुई दिनअगावै जनकशिक्षा सामग्रीले मतपत्र छपाइ सम्पन्न गरेको हो ।
शुक्रवार जनक शिक्षा सामग्रीमा मतपत्र छपाइसम्बन्धी अवलोकन गर्दै निर्वाचन आयोगका आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन आयोगको २० गतेसम्म मतपत्र छापिसक्नुपर्ने समयावधि भन्दा दुई दिनअगावै सबै मतपत्र छापिएको बताए ।
उनले ८ करोड ३ लाख ९४ हजार ५ सय मतपत्र छपाई सकिएको र नमूना मतपत्र २२ लाख गरी कुल करिव ८ करोड २५ लाख मतपत्र छपाई भएको आयोगले जनाएको छ ।
आयोगको पछिल्लो तथ्यांकअनुसार निर्वाचनमा कुल १ करोड ७९ लाख ८५ हजार ७० जना मतदाता रहेका छन् ।
यी मतदाताहरूले समानुपातिक तथा प्रत्यक्ष दुई प्रणालीका लागि चार वटा मतपत्रमा भोट हाल्नुपर्ने हुन्छ । जस अनुसार आगामी निर्वाचनका लागि करिब ८ करोड मतपत्र आवश्यक पर्छ ।