काठमाडौं । काठमाडौंको न्युरोडमा एक पुरुषको शव फेला परेको छ । जुद्ध शालिक नजिकको एक मन्दिरभित्र आज बिहान शव फेला परेको हो ।
बिहान पौने ७ बजेतिर सडकमा कुच्चो लगाउन आएका मानिसले पुरूष मृत फेला परेपछि प्रहरीलाई खबर गरिएका थिए । अन्दाजी ४५ वर्षीय पुरूषको पहिचान खुलेको छैन। उनी ज्याला मजदुरी गर्ने व्यक्ति भएको खुलेको छ।
घटना भने शंकास्पद रहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । उनको टाउकोमा चोट देखिएको छ ।
घटनास्थलमा ढोकामा लगाउने आग्लो जस्तो लामो काठ पनि फेला परेको छ । घटनाको प्रकृति हेर्दा उनको हत्या भएको हुन सक्ने प्रारम्भिक अनुमान प्रहरीले गरेको छ ।
उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली घटनास्थल पुगेको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।