काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को भारतको नयाँ दिल्लीको उडान कटौती भएको छ । नेपाल नागरिक उड्ययन प्राधिकरण (क्यान)ले नेपाल एयरलाइन्सको आइतवार बिहान तय भएको दिल्ली उडान कटौती गरेको हो ।
भारतका तीन गन्तव्यमा उडान गरिरहेको नेपाल एयरलाइन्सलाई कारबाहीस्वरुप नयाँ दिल्ली गन्तव्यको उडान संख्यामा केही कटौती भएको निगमको वाणिज्य विभागले जनाएको छ ।
नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा तीनभन्दा बढी उडान गरिरहेका एयरलाइन्सलाई भैरहवाबाट कम्तीमा पनि एक उडान गर्नुपर्ने व्यवस्थासहित लिखित निर्देशन दिएको थियो ।
काठमाडौं विमानस्थलको विद्यमान हवाई उडान चाप व्यवस्थापन गर्न तथा गौतमबुद्ध विमानस्थलको प्रभावकारी प्रयोजनका निम्ति प्राधिकरणले दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलमा अनिवार्य उडान गर्न निर्देशन दिएको हो ।
प्राधिकरणको यो निर्णयले काठमाडौं उडान भर्ने राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) र निजी क्षेत्रको हिमाल एयरलाइन्ससहित पाँच विमान कम्पनीले भैरहवामा अनिवार्य उडान गर्नुपर्नेछ ।
प्राधिकरणले निर्देशन दिएबमोजिम नेपाल एयरलाइन्स तत्कालै भैरहवामा उडान गर्न असमर्थ भएपछि निगमको उडान कटौती गरेको छ । निगमले नयाँ दिल्ली गन्तव्यमा दैनिक दुई उडान गर्दै आएको थियो ।
सातामा १४ उडान हुँदै आएकामा आजदेखि चार उडान कटौती भएको निगमले जनाएको छ । चार उडान कटौती हुँदा अब निगमले दैनिक १० उडान मात्रै गर्नेछ ।
दुई स्वदेशी एयरलाइन्स वायुसेवा निगम र हिमालय एयरलाइन्सलाई ‘विन्टर सेड्युल’ मा उडान गर्न प्राधिकरणले पत्राचार गरेको छ । काठमाडौं विमानस्थलमा हाल तीन नेपालीसहित २६ अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान भर्दै आएका छन् ।
Leave a Reply