काठमाडौं । निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ आजबाट दोस्रो चरणको मतपत्र ढुवानी शुरु गरेको छ ।
पहिलो चरण अन्तर्गत प्रदेश नं. १, मधेश प्रदेश र बागमती प्रदेशका लागि मतपत्र ढुवानी भइसकेको निर्वाचन आयोगले जनाएको छ।
आयोगका अनुसार समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत प्रतिनिधिसभातर्फ देशभरका लागि कुल २ करोड ४ लाख २१ हजार र प्रदेश सभातर्फ २ करोड १ लाख ८४ हजार मतपत्र यसअघि नै छपाइ भइसकेको छ ।
यसबाहेक निर्वाचन आयोगले निर्वाचन शिक्षाका लागि २२ लाख ४० हजार नमुना मतपत्र छापेर यसअघि नै जिल्ला जिल्लामा पठाइसकेको छ ।
पहिलो हुने निर्वाचित हुने प्रणाली (प्रत्यक्ष)तर्फ बुधबारसम्म १ करोड ३७ हजार मतपत्र छपाइ सम्पन्न भएको छ। छापिएका मध्ये प्रतिनिधि सभातर्फको मतपत्र ५० लाख १३ हजार र प्रदेश सभातर्फको मतपत्र ५० लाख २४ हजार रहेका आयोगले जनाएको छ।