काठमाडौं । निर्वाचन आयोगले सर्लाहीको हरिपूर्वा नगरपालिकाका प्रमुख र प्रशासकीय अधिकृतलाई निर्वाचन आचारसंहिताविपरीतका काम गरेको भन्दै स्पटीकरण सोधेको छ ।
आयोगले नगरपालिकाले तय गरेको विशेष अधिवेशन स्थगन गरी निर्वाचन आचारसंहिताविपरीत हाल किन अधिवेशन गर्नुपरेको हो भनी दुई दिनभित्र स्पष्टीकरण पेस गर्न निर्देशन दिएको हो ।
आयोगले नगरसभा सदस्य र केही पार्टीका तर्फबाट परेको उजुरीका आधारमा निर्वाचन आचारसंहिता, २०७९ को दफा ५ को खण्ड (ख) को प्रतिबन्धात्मक बाक्यांश बमोजिमको अवस्था नपरी आयोगको सहमतिबेगर वार्षिक बजेट तथा कार्यक्रममा स्वीकृत भएका बाहेकका नीति तथा योजना ल्याउन नमिल्ने स्मरण गराएको हो ।
उक्त नगरपालिकाले असोज १२ गतेका लागि विशेष अधिवेशन आह्वान गरेर गणपूरक सङ्ख्या नपुगेको कारण उक्त मितिमा सञ्चालन हुन नसकी कात्तिक २ गतेका लागि बोलाइएको अधिवेशन हाललाई स्थगन गर्न निर्देशन दिएको हो ।