काठमाडौं । मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनअन्तर्गत कर्णाली र सुदूरपश्चिम प्रदेशका लागि प्रत्यक्षतर्फको मतपत्र छपाइ सकिएको छ ।
यी दुई प्रदेशका प्रतिनिधिसभातर्फ ३८ र प्रदेशसभातर्फ ८० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकिएको निर्वाचन आयोगले जनाएको हो ।
आयोगले उम्मेदवारको मनोनयनपत्र दर्ता भई अन्तिम नामावली सार्वजनिक गरेलगत्तै प्राथमिकतामा राखेर कर्णाली र सुदूरपश्चिमको मतपत्र छाप्न सुरु गरेको थियो ।
यस पटक प्रत्यक्षतर्फ अन्तिम नामावलीमा कायम उम्मेदवारको निर्वाचन चिन्हमात्र समावेश गरी मतपत्र छपाइ गरिएको छ । भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा दैनिक करिब २५ लाख मतपत्र छपाइ भइरहेको आयोगले जनाएको छ ।
हालसम्म पहिलो हुने निर्वाचित हुने प्रणालीअन्तर्गत कुल ८९ लाख ९९ हजार मतपत्र छपाइ भइसकेको छ । सोमध्ये प्रदेशसभातर्फ ४७ लाख १५ हजार र प्रतिनिधिसभातर्फ ४३ लाख ४८ हजार मतपत्र रहेका छन् ।
समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र यसअघि नै छपाइ भई वितरण सुरु भइसकेको छ । हालसम्म वाग्मती प्रदेश, मधेस प्रदेश र प्रदेश १ का सबै निर्वाचन क्षेत्रमा मतपत्र ढुवानी भइसकेको छ । बाँकी प्रदेशहरूमा यही कात्तिक ३ गतेदेखि मतपत्र ढुवानी सुरु हुने आयोगले जनाएको छ ।