काठमाडौं । ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि चुनावी तालमेलसहित मैदानमा उत्रिएका सत्ता गठबन्धन आबद्ध चार दलले चुनावी अपिल साझा तर घोषणापत्र अलगअलग बनाउँदै छन् ।
सत्ता गठबन्धनले गठबन्धन आबद्ध दलको चुनावी अपिल बनाउनका लागि गठबन्धन आबद्ध चार दलबाट एक÷एक जना सदस्य रहने गरी समिति बनाएको छ । यस्तै, चारै दलले आआफ्नै घोषणापत्रसमेत तयार गर्दै छन् ।
साझा अपिल बनाउन समितिमा नेपाली कांग्रेसबाट प्रवक्ता डा. प्रकाशशरण महत, नेकपा माओवादी केन्द्रबाट हितमान शाक्य, नेकपा एकीकृत समाजवादीबाट प्रमेश हमाल र राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी सदस्य छन् ।
समितिमा सत्ताको नेतृत्व गरेको दल कांग्रेसबाट जिम्मेवारी पाएका महतले निर्वाचनका लागि सत्ता गठबन्धन आबद्ध दलको साझा अपिल तयार हुँदै गरेको जानकारी दिए । राजधानी दैनिकबाट