रुपन्देही । सत्ता गठबन्धनको समर्थनमा घनश्याम भुसालले रुपन्देही–१ बाट उम्मेदवारी दिएका छन् ।
एमालेले टिकट नदिएपछि भुसालले स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गराएका हुन् । भुसालले शनिवार एमाले परित्याग गरेको घोषणा गरेका थिए ।
उनलाई सत्तारुढ गठबन्धनले समर्थन गर्ने भएको छ । संविधानको रक्षा गर्दै समुन्नत नेपालको भविष्यका लागि प्रगतिशील पार्टीहरू एकताबद्ध हुनुपर्ने उनले बताए ।
यो क्षेत्रमा गठबन्धनले प्रतिनिधि सभातर्फ उम्मेदवारी दिएको छैन । भुसालले आइतवार बिहान आफ्नै निवासमा पत्रकार सम्मेलन गरी आफूले स्वतन्त्र उम्मेदवारी दिने र त्यसलाई गठबन्धन सघाउने माओवादी अध्यक्ष पुष्पकमल दाहालले प्रतिबद्धता जनाइसकेको बताएका थिए ।
प्रदेशसभातर्फ क्षेत्र नं- १ 'क' मा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका विश्वनाथ यादव र 'ख' बाट अब्दुल रज्जाकले मनोनयन दर्ता गराएका छन् ।