धनगढी । नेपाली कांग्रेसको कारबाहीमा परेका पुष्करनाथ ओझाले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन् ।
अगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्यमा कैलाली निर्वाचन क्षेत्र नम्बर ५ बाट ओझाले स्वतन्त्र उम्मेदवारी दिने धनगढीमा पत्रकार सम्मेलन गरेर घोषणा गरेका हुन् ।
शुक्रबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘म यहाँको मानिसहरूको आत्मसम्मानको लागि चुनाव लड्न गइरहेको छु । उपयुक्त फोरम चुनाव हो । म संगठित स्वतन्त्रको पक्षमा छैन । म सर्वदलीय उम्मेदवार बन्न चाहन्छु ।’
उनले आफू सबै दलको साझा उम्मेदवारका रुपमा अघि सर्ने बताएका छन् । २०७४ सालको प्रतिनिधिसभा चुनावमा पनि ओझा टिकटको आकांक्षी थिए ।
तर पार्टी सभापति शेरबहादुर देउवाले पत्नी आरजु राणालाई टिकट दिएपछि ओझा रुष्ट थिए । आरजु नेकपा एमालेका नारदमुनी रानासँग पराजित भएकी थिइन् । उक्त चुनावमा असहयोग गरेको भन्दै नेपाली कांग्रेसले ओझालाई क्रियाशील सदस्य समेत नरहने गरी कारवाही गरेको थियो ।
Leave a Reply