काठमाडौं । विवेकशील साझा पार्टीको रवीन्द्र मिश्र पक्षले राप्रपासँग एकता गर्ने भएको छ । अध्यक्ष राजेन्द्र लिङ्देनपछि दोस्रो वरीयतामा रहने गरी उपाध्यक्ष पद लिएर मिश्र पक्ष राप्रपासँग एकता गर्न लागेका हुन् ।
राप्रपा र मिश्रनिकट स्रोतहरूले विवेकशील साझाका पूर्वअध्यक्ष मिश्रलाई उपाध्यक्ष दिने सहमति भइसकेको जनाएका छन् ।मिश्र निकट एक नेताका अनुसार मिश्रले राप्रपामा सहअध्यक्ष मागेका थिए । तर, सहमति हुन नसकेपछि उनले उपाध्यक्षमा चित्त बुझाएको ती नेताको भनाइ छ ।
तर, उनको वरीयता भने अरू उपाध्यक्षभन्दा माथि हुने स्रोत बताउँछ । राप्रपामा ६ जना उपाध्यक्ष छन् । राप्रपाका ८ जनासम्म उपाध्यक्ष हुनसक्ने व्यवस्थामा विधान छ । विवेकशील साझामा बृहत्तर राष्ट्रवादी ध्रुवीकरणका लागि राप्रपासँग एकीकरण हुनुपर्छ भन्ने समूह पनि राप्रपामा जान लागेको हो ।
केही दिनमै काठमाडौंमा आमसभा गरेर मिश्र पक्षधर र राप्रपाबीच एकता हुने बताइएको छ । एक दुई दिनमै टुंगोमा पुर्याउनेगरी नेताहरूबीच अहिले छलफल भइरहेको राप्रपाका महामन्त्री भुवन पाठकले जानकारी दिए ।
Leave a Reply