सर्लाही । उखु किसानले समयमै अनुदानको रकम पाउन नसक्दा मर्कामा परेका छन् ।
जिल्लामा एकमात्र नगदे बालीको उखुखेती लामो समयदेखि गर्दै आएका किसानलाई सरकारले अनुदान दिने घोषणा गरे पनि राज्यबाट पाउनुपर्ने अनुदान रकम समयमा सरकारले भुक्तानी नपठाउँदा किसान मर्कामा परेका हुन् ।
जिल्लामा सञ्चालित केही उद्योगले किसानलाई उखु खरिद गरेको रकम भुक्तानी दिएको भए पनि केही उद्योगले किसानको उखु खरिद वापतको रकम नदिएको भन्दै जिल्लाका किसान आन्दोलनमा जानुपरेको थियो ।
नेपाल सरकारले दिने भनेको अनुदानको रकमसमेत समयमा उपलब्ध नगराउँदा किसानलाई मल तथा उखु खेतीका लागि आवश्यक सामग्री बजारबाट खरिद गर्न समस्या परेको नेपाल उखु उत्पादक सङ्घले जनाएको छ ।
गत आर्थिक वर्षका लागि नेपाल सरकारले उद्योग र किसान प्रतिनिधिबीच भएको सहमतिअनुसार उद्योगले प्रतिक्विन्टल रु पाँच सय २० र नेपाल सरकारले रु ७० अनुदान रकम दिने सहमति भएको थियो ।