काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गठबन्धन सरकार बिपीको सिद्धान्तअनुरूप अघि बढेको बताएका छन् ।
नेपाली कांग्रेस जिल्ला कार्यसमिति तनहुँले आज दमौलीमा आयोजना गरेको १०९औं बिपी जयन्ती तथा जनताका साथमा कांग्रेस अभियानको पहिलो चरणको समापन कार्यक्रममा उनले बिपीको मूल सिद्धान्त राष्ट्रिय एकता र मेलमिलापको नीति रहेकाले अहिलेको गठबन्धन सरकार सोहीअनुरुप चलेको स्पष्ट पारे।
बीपीले देखाएको मार्गलाई कांग्रेसले अवलम्बन गर्दै अघि बढेको छ । उनले भने, ‘यदि सिद्धान्तविपरीत हिँडेको भए अहिले देशमा संघीय लोकतान्त्रिक गणतन्त्र आउँदैन्थ्यो।’
उनले देशमा सङ्कट देखापर्दा कांग्रेसले निकास र बाटो देखाउन महत्वपूर्ण भूमिका खेल्दै आएको र आउँदा दिनमा पनि अवलम्बन गर्दै अघि बढ्ने प्रण व्यक्त गरे।