Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

निर्वाचन सुरक्षामा १ लाख १५ हजार म्यादी प्रहरी भर्ना गर्न अर्थ मन्त्रालय सहमत

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सुरक्षाका लागि अर्थ मन्त्रालयले १ लाख १५ हजार म्यादी प्रहरी भर्ना गर्न सहमति दिएको छ ।

आइतबार अर्थ मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई त्यसबारे सहमति दिएको अर्थ मन्त्रालयका एक उच्च अधिकारीले बताए ।

मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सुरक्षाका लागि १ लाख २० हजार भन्दा धेरै म्यादी प्रहरी भर्ना गर्नुपर्ने प्रहरीले प्रस्ताव गरेको थियो । तर, अर्थले प्रहरीको प्रस्तावलाई कटौती गरेर अनुमति दिएको छ ।

मतदान स्थल र केन्द्र बढ्ने हुनाले स्थानीय तहको निर्वाचनमा भन्दा म्यादी प्रहरी धेरै चाहिने प्रहरी प्रधान कार्यालयको निष्कर्ष छ ।

प्रहरी प्रधान कार्यालयले १ लाख २० हजार म्यादी प्रहरी भर्ना गर्नुपर्ने प्रस्ताव बनाएर गृह मन्त्रालयमार्फत अर्थमा पठाएको थियो । अर्थ मन्त्रालयले सहमति दिएसँगै प्रहरी प्रधान कार्यालयले कार्यविधि बनाएर म्यादी प्रहरीका लागि दरखास्त आह्वान गर्ने कानुनी व्यवस्था छ ।

४ मंसिरको निर्वाचनमा करिब दुई लाख ९० हजार सुरक्षाकर्मी परिचालन हुने भएका छन् ।

नेपाल प्रहरी ७२ हजार, सेना ७० हजार, सशस्त्र प्रहरी ३० हजार र राष्ट्रिय अनुसन्धान विभागका दुई हजार कर्मचारी चुनावी सुरक्षामा खटिनेछन् । त्यस्तै, एक लाख १५ हजार म्यादी हुनेछन् ।

नेपाल प्रहरीले सम्हाल्दै आएका कारागार, विमानस्थललगायतको सुरक्षा जिम्मेवारी सेनालाई दिएर त्यहाँका प्रहरीलाई निर्वाचनमा खटाउने गृह मन्त्रालयको तयारी छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077