काठमाडौं । राष्ट्रिय सभाकी सांसद दुर्गाकुमारी गुरुङले खेलाडीहरुलाई पनि पेन्सन दिने व्यवस्था मिलाउन गर्न सरकारसँग माग गरेकी छिन् ।
सोमबार राष्ट्रिय सभा बैठकमा सांसद गुरुङले उमेर हदको व्यवस्था गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा सम्मान पाएका खेलाडीहरुलाई शिक्षक, कर्मचारीहरुलाई जस्तै पेन्सन दिने व्यवस्था गर्न सरकारसँग माग गरेकी हुन् । उनले सबै उमेर समूहका नागरिकका लागि खेल खेल्नका लागि आवश्यक व्यवस्था मिलाउन पनि सरकारको गम्भिर ध्यानाकर्षण गराइन् ।
खेलकुद क्षेत्रको विकासले मुलुकको विकास र समृद्धि समेत हुने तथा नागरिकहरु पनि स्वस्थ हुने भएकाले त्यस क्षेत्रको विकासमा सरकारले विशेष ध्यान दिनुपर्ने उनले बताइन् ।
उनले भनिन्, ‘हामीसँग युवा तथा खेलकुद मन्त्रालय छ । राष्ट्रिय खेलकुद परिषद छ । नीति, कार्यक्रमहरु पनि बनेका छन । यही आर्थिक वर्षको बजेटले खेलकुद विकासको २० वर्षे गुरुयोजना तयार पारी कार्यान्वयन गर्ने कुरा पनि गरेको छ । एक स्थानीय तहमा एक खेल ग्रामको कुरा पनि आउन थालेको छ । तथापि युवा तथा खेलकुद मन्त्रालयको २ अर्व ४६ करोडको बजेट अत्यन्तै थोरै हो भन्ने मलाई लाग्छ ।’