Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

वैदेशिक रोजगारीमा गएका श्रमिकलाई शेयर बजारको मालिक बनाइँदै

काठमाडौं । नेपाल धितोपत्र बोर्डले वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकलाई पनि धितोपत्रको कारोबारमा जोड्ने भएको छ। विशेषगरी विप्रेषणलाई वैधानिक तबरले भित्र्याउने तथा त्यसबाट थप पूँजीको विस्तार गर्ने लक्ष्यका साथ बोर्डले प्राथमिक सेयर निस्कासनमा १० प्रतिशत बराबरको शेयर आरक्षण गर्ने नीति तय गरेको छ। त्यसका लागि धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ मा संशोधन गर्ने भएको छ।

बोर्डको चालु आवको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै अध्यक्ष रमेश हमालले विप्रेषण पठाउने श्रमिकको हितका लागि यस्तो नीतिको प्रबन्ध गरिएको जानकारी दिए। धितोपत्रको दोस्रो बजारमा गैरआवासीय नेपालीको लगानी खुल्ला गर्न धितोपत्रसम्बन्धी कानुनमा आवश्यक संशोधन तथा परिमार्जन गरिने भएको छ।

बोर्डलाई थप जवाफदेहितासहितको अधिकारसम्पन्न नियमन निकाय बनाउनका लागि धितोपत्र तथा वस्तु विनिमय बोर्डसम्बन्धी विधेयक तथा धितोपत्र व्यवसायीको नियमन तथा सुपरीवेक्षण कार्यलाई प्रभावकारी बनाउन धितोपत्र विनियमसम्बन्धी विधेयकको मस्यौदा कार्य अगाडि बढाइने अध्यक्ष हमालले जानकारी दिए।

साथै धितोपत्र व्यवसायीका लागि संस्थागत सुधारसम्बन्धी निर्देशिका तर्जुमा गरी लागू गरिने भएको छ । बजारमा हुने सूचना तथा विवरण प्रवाहको सहज एवं सदृढ व्यवस्था गर्न विवरण प्रवाह तथा प्राप्ति प्रणाली विकास गरिएकामा त्यसलाई थप प्रभावकारी बनाउने बोर्डको योजना छ। धितोपत्र बजारमा राफसाफमा आउन सक्ने समस्या समाधानका लागि आवश्यक अक्सन मार्केटको विकास तथा सञ्चालनसम्बन्धी अध्ययन गर्ने बोर्डको योजना छ।

बोर्ड कर्मचारीको सेवा सर्त नियमावलीलाई समयानुकूल बनाउनुका साथै बोर्ड पदाधिकारीलाई आचारसंहिताले बाँध्नका लागि थप पुनरावलोकन एवं समसामयिक बनाउने लक्ष्य राखिएको छ। बोर्डले समग्र रुपमा वर्षभरि कार्यक्रमको ढाँचा तथा रुपरेखा सार्वजनिक गरेको छ।

यसबाट नेपालको समग्र सेयर बजारको विकास र विस्तारमा सहयोग पुग्ने विश्वास लिइएको छ। सेयर बजारमा साना लगानीकर्ताको हितको सम्वर्द्धन गर्ने र ठूला लगानीकर्ताको अनावश्यक चलखेल नियन्त्रणका लागि समेत प्रभावकारी नीति तथा कार्यक्रमको प्रबन्ध गरिएको अध्यक्ष हमालले जानकारी दिए। बजारको विस्तारका लागि आवश्यक सबै उपायको अवलम्बन गर्ने लक्ष्य बोर्डले लिएको छ। रासस

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077