Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

अर्थ समितिको गृह मन्त्रालयलाई प्रश्न - आर्थिक संकटका बेला किन हतियार खरिद गर्न लागेको ?

काठमाडौं । संसद्को अर्थ समितिले सरकारले नेपाल प्रहरीलाई हातहतियार खरिद गर्न अनुमति दिएको बारे गृह मन्त्रालयसँग जवाफ माग गरेको छ । सोमबार बसेको अर्थ समितिको बैठकले सरकारले किन हतियार खरिद गर्न लागेको भन्दै मन्त्रालयसँग सम्पूर्ण कागजातसहित तीन दिनभित्र जवाफ माग गरेको हो ।

मुलुकको आर्थिक अवस्था कमजोर बनेको, आर्थिक संकट निम्तिएको र डलरको सञ्चिति घटेको बेला बजेटमा उल्लेख नभएको विषयमा सरकारले हातहतियार खरिद गर्न थालेपछि सदनमा पनि विरोध भएको थियो । सरकारले तत्काल ८४ करोड रुपैयाँको हतियार खरिदका लागि नेपाल प्रहरीलाई अनुमति दिइसकेको छ।

सो हतियार खरिदका लागि नेपाल प्रहरीले इटालीको एक कम्पनीबाट ल्याउने तयारी गरेको छ । नेपाल प्रहरीलाई आवश्यक परेकाले खरिद प्रक्रिया अघि बढाइएको नेपाल प्रहरीका प्रवक्ता डिआइजी टेकप्रसाद राईले जानकारी दिए ।

उनले नेपाल प्रहरीले सात वर्षदेखि हतियार खरिद गर्न नपाएको र अहिलेको अवस्थामा शान्तिसुरक्षा कायम गर्न हतियार खरिद गर्न लागेको बताए । उनले शान्तिसुरक्षालाई खलल नपुग्ने गरी हतियार खरिद गर्न लागेको र पैसा पनि नेपाल प्रहरीकै भएको स्पष्ट पारे ।

संसदमा कुरा उठाउँदै सांसद नवराज सिलवालले अहिले नेपाल प्रहरीलाई हतियारभन्दा तालिम र प्रविधिको आवश्यकता रहेको बताएका थिए । उनले नेपाल प्रहरीको क्षमता अभिवृद्धिमा ध्यान दिनुपर्नेमा आर्थिक संकटको बेला हतियार खरिद गरेर सरकार चरम आर्थिक अनियमिततातिर लागेको आरोपसमेत लगाए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077