काठमाडौं । जेठ महिनामा विदेशी मुद्राको सञ्चिति ३० अर्ब रुपैयाँले बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार वैशाख महिनाको तुलनामा जेठ महिनामा ३० अर्बले विदेशी मुद्राको सञ्चिति बढेको हो ।
वैशाख महिनामा नेपालसँग ११ खर्ब ४६ अर्ब ८८ करोड रुपैयाँ विदेशी मुद्राको सञ्चिति थियो । जुन जेठ महिनासम्मको अवधिमा ३० अर्ब रुपैयाँले बढेर ११ खर्ब ७६ अर्ब ७४ करोड रुपैयाँ पुगेको छ ।
यो एक महिनामा विदेशी मुद्राको सञ्चितीमा आएको २९ अर्ब ९६ करोडको वृद्धि हो । यसैगरी, यस अवधिमा अमेरिकी डलरमा समेत विदेशी मुद्राको सञ्चिति बढेको छ ।
राष्ट्र बैंकका अनुसार एक महिनाको अवधिमा अमेरिकी डलरमा विदेशी मुद्राको सञ्चिति १७ करोड डलरले बढेको छ । वैशाख महिनामा ९ अर्ब २८ करोड डलर सञ्चिति रहेकामा जेठ महिनामा ९ अर्ब ४५ करोड डलर पुगेको छ ।