काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । बैठक सोमवार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने जनाइएको छ ।
केन्द्रीय कार्यसमितिको बैठक बस्नुअघि आइतवार कांग्रेस पदाधिकारी बैठक बसेको थियो ।
बैठकले भ्रातृ एवं शुभेच्छुक संस्थाको विधानलाई अन्तिम रुप दिई स्वीकृत गरेर आजदेखि शुरू हुने केन्द्रीय समिति बैठकमा पेस गर्ने निर्णय गरेको छ ।
बैठकले आदिवासी जनजाति महासङ्घ, थारू सङ्घलाई भ्रातृ संस्थाको मान्यता दिँदै विधानलाई अन्तिम रूप दिई स्वीकृत गरेको थियो ।
यस्तै वैशाख ३० मा भएको स्थानीय तह चुनावको समीक्षामा कांग्रेस बैठक केन्द्रित हुनेछ। चुनाव भएको करिब दुई महिना हुन लाग्दा कांग्रेसले बल्ल केन्द्रीय समितिमा चुनावी समीक्षा गर्न लागेको हो।
चुनावी समीक्षाबाहेक केन्द्रीय समिति बैठकमा कोषाध्यक्ष चयन गरिनुपर्ने, संसदीय समिति, कार्यसम्पादन समितिलाई पूर्णता दिनुपर्ने र विभागहरू तथा समितिहरू गठन गरिनुपर्ने एजेन्डा पनि प्रवेश हुने बताइएको छ ।