Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अम्बे स्टिलमा जोडियो थप १७.५ मेगावाट बिजुली, १४० मेगावाट बिजुली भारत निर्यात

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले खपत गरेर बढी भएको बिजुली भारत निकासी गर्न थालेको छ । शनिबार मध्यरातदेखि कालीगण्डी ‘ए’ को १४० मेगावाट बिजुली भारत निर्यात भएको छ ।

प्रतियुनिट रु १९ मा बिजुली भारत पठाइएको छ । त्यसका अलावा देशभित्रै पनि बढी बिजुली खपत गर्ने उद्योगलाई एकपछि अर्को गर्दै बिजुली उपलब्ध गराउन थालिएको छ ।

सोही क्रममा आज मात्रै नेपाल विद्युत् प्राधिकरणको कोहलपुर वितरण केन्द्रले बाँकेमा रहेको अम्बे स्टिललाई १७.५ मेगावाट बिजुली उपलब्ध गराएको छ । यसअघि सो उद्योगले आठ मेगाबाट बिजुली लिँदै आएको थियो ।

कोहलपुर वितरण केन्द्रका प्रमुख सुरज रेग्मीका अनुसार उद्योगले कूल ३५ मेगावाट बिजुली माग गरेकामा हालसम्म २५.५ मेगाबाट बिजुली आजदेखि उपलब्ध भएको छ । देशभित्रै गुणस्तरीय छड तथा डण्डी उत्पादन गर्ने लक्ष्यका साथ अम्बे स्टिलले बाँकेमा कारखाना स्थापना गरेको हो ।

हाल चमेलिया करिडोरमा उत्पादित बिजुली र टनकपुर नाकाबाट आयात भइरहेको बिजुली व्यवस्थापन गरेर पश्चिम नेपालमा वितरण गरिएको छ । भरतपुर–बर्दघाट २२० केभी प्रसारण लाइन निर्माणमा नवलपरासीको दुम्कीबासमा समस्या देखिँदै आएको छ ।

स्थानीयवासीले प्रसारण लाइनको मार्ग परिवर्तन गर्नुपर्ने माग राख्दै सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनका कारण पूर्वको बिजुली पश्चिम जानसकेको छैन । हाल बर्दघाट आसपासमा १३२ केभी क्षमताको प्रसारण लाइन मात्रै सञ्चालनमा छ । त्यसले १०० मेगावाट बराबर मात्रै बिजुली प्रवाह गर्न सक्छ ।

बाह्र वर्षभन्दा लामो समय भए पनि सो आयोजनाका सम्बन्धमा स्थानीयवासीले राखेका माग सम्बोधन हुन नसक्नु र सर्वोच्च अदालतले समेत फैसला नगरिदिँदा राष्ट्रियरुपमा नै बिजुली प्रवाहमा समस्या भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077