Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

जसले अख्तियारमा मुद्दा खेप्दाखेप्दै केही घण्टाका लागि एआईजीको फूली लगाए

काठमाडौं । बैंशाख २३ गते प्रहरी नायब महानिरीक्षक (डीआईजी) बाट प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा  सिफारिस भएका बसन्तकुमार लामाले १५ दिन पछि ६ गते शुक्रबार बल्ल फूली लगाउन पाए ।

भोली अर्थात आइतबारबाट ५६ वर्षे उमेर हदका कारण अवकाश पाउन लागेका एआईजी लामाले केही घण्टाका लागि मात्रै एआईजीको फूली भएको पोशाक लगाउने सौभाग्य पाए ।

शुक्रबार २०४९ सालमा सँगै प्रहरी निरीक्षकमा भर्ना भएका ब्याची तथा अहिलेका प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहको हातबाट उनले दर्ज्यानी चिन्ह पाएका थिए ।

बढुवापछि एअईजीको पोशाक लगाउन पाएका लामाले शुक्रबार केही समय मात्रै कार्यालयमा विताए । नेपाल सरकारको नयाँ नियम अनुसार शनिबार र आईतबार दुई दिन सार्वजनिक बिदा हुने हुँदा लामाको शुक्रबार नै विदाई भइसकेको छ । त्यसैले अब उनी कार्यालय फर्किने छैनन् ।

प्रहरी नियमावली अनुसार डीआईजी र एआइजीमा ५६ वर्षको उमेर हद राखिएको छ। जसको कारण लामा ३० वर्षे सेवा अवधि नसकिँदै अवकास हुन लागेका हुन्।

नेपाल प्रहरीमा पाँच एआईजी पद रिक्त हुँदा हुँदै पनि सिंगल बढुवा हुन सफल लामा प्रहरी संगठनभित्र भने विवादित व्यक्ति हुन् । ३३ किलो सुन प्रकरणको उच्चस्तरीय छानविन टोलीमा प्रहरीको तर्फबाट नेतृत्व गर्दा उनको चर्चा भन्दा बढि विरोध भएको थियो ।

डिआइजी लामाले सुन काण्डमा आफ्नै सहकर्मीलाई फसाएर संगठनलाई कमजोर बनाएका थिए। उनीमाथि आरके ज्वेलर्सका राजेन्द्र शाक्यलगायतका व्यापारीसँग बार्गेनिङ गरेको आरोप लागेको थियो ।

बागमती प्रदेश, काठमाडौं परिसर, मकवानपुर तथा कास्कीमा प्रमुख भएर काम गरेका लामाले मकवानपुर र कास्कीमा रहँदा गाँजा तथा लागूऔषध तस्कर समूहसँग मिलेर करोडौ सम्पत्ति जोडेका थिए।

सोही कारण अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनको स्रोत नखुलेको सम्पत्तिको प्रकरणमा मुद्दा चलाउने तयारी थालेको छ । अख्तियारले उनको सम्पत्तिको बारेमा १३ पन्ने भर्न लगाएर अनुसन्धान गरिसकेकाे छ ।

लामाको अवैध र स्रोत नखुलेको सम्पत्तिको बारेमा मुद्दा चलाउने अन्तिम तयारी भइरहेको अख्तियार स्रोतको दावी छ । केही समयको लागि मात्रै एआईजीमा बढुवा भएका लामामाथि अख्तियारले कस्तो कारबाही गर्ने हो ? त्यो भने पर्खाइको विषय बनेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077