Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गोप्य मतदान देखाउने बाबुराम भट्टराईलाई १५ हजार जरिवाना हुन सक्ने

काठमाडौं । स्थानीय चुनावमा हुने गोप्य मतदान देखाएका जनता समाजवादी पार्टीका संघिय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईमाथि कारबाही हुने भएको छ ।

कुनै पनि मतदाताले आफूले मतपत्रमा स्वस्तिक छाप लगाइसकेपछि कसैलाई देखाउन नमिल्ने प्रावधान छ । तर, डा. भट्टराईले भने सामाजिक सञ्जालमा आफूले मतदान गरेको तस्वीरहरु पोष्ट गरेका छन् । उनले राखेकोमध्ये एउटा तस्वीरमा मतपत्रमा लगाइएको स्वस्तिक छापसमेत देखिएको छ । यसबाट गोप्य मतदानसम्बन्धी नियम उल्लंघन भएको छ ।

पूर्वप्रधानमन्त्रीले नै नियम उल्लंघन गरेपछि उनीमाथि कारबाही हुनसक्ने भएको हो ।

निर्वाचन कसुर तथा सजाय ऐन २०७३ अनुसार यसरी मत संकेत सार्वजनिक गर्न पाइँदैन । ऐनको दफा ९ मा मत संकेत सार्वजनिक गरेमा निर्वाचन अधिकृतले १५ हजारसम्म जरिवाना गर्न सक्ने व्यवस्था छ । डा. भट्टराईले सामाजिक सञ्जालमा नै मत संकेत देखाइदिएपछि उनी सो कारवाहीको भागीदार बन्न सक्नेछन् ।

ऐनको दफा ९ को उफदफा १ मा भनिएको भनिएको छ– ‘कसैले पनि मतपत्रमा मत संकेत गरिसकेपछि त्यस्तो मतपत्र कसैलाई देखाउन, प्रदर्शन गर्न, गोप्य मत संकेत स्थलमा मत संकेत नगरी त्यसभन्दा बाहिर गई मत संकेत गर्न वा मत संकेत गरेको व्यहोरा कुनै प्रकारले सार्वजनिक गर्न हुँदैन ।

उपदफा २ मा यस्तो कार्य गर्ने व्यक्तिलाई मतदान अधिकृतले १५ हजार रुपैयाँसम्म जरिवाना गर्न सक्ने उल्लेख छ । यस्तै, उपदफा ३ मा भनिएको छ, ‘उफदफा १ विपरीताको कार्य गरी कसैले मतपेटिकामा खसाली नसकेको भए मतदान अधिकृतले त्यस्तो मतपत्रलाई छुट्टै खाममा राखी त्यस्तो खाममा सोही व्यहोरा उल्लेख गरी सीलबन्दी गरी मुचुल्का खडा गरी राख्नुपर्ने छ र त्यस्तो मतपत्र गणना गरिने छैन ।’

डा. भट्टराईले मतपत्र खसालिसकेपछि सार्वजनिक गरेको हुँदा उनको हकमा उफदफा ३ को प्रावधान भने लागू हुँदैन ।

डा. भट्टराईले गोरखाको पानापा १ अन्नपूर्ण मावि बुथमा बिहान ८ः२५ बजे मतदान गरेका थिए । लगत्तै उनले केही तस्वीरहरु सामाजिक सञ्जालमा पोष्ट गरेका हुन् । गोप्य स्थानमा मतदान गर्दै गरेको तस्वीरसमेत उनले राखेका छन् । जसमा तीनवटा स्वस्तिक छाप छाता चिन्हमा लगाएको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077