Online Nepal
  • शुक्रबार, ४ असोज २०८१
  • नेपाल टेलिकमको चौधौं वार्षिक साधारणसभा सम्पन्न, चुक्ता पुँजी १८ अर्ब पुर्याउने प्रस्ताव पारित

    नेपाल टेलिकमको चौधौं वार्षिक साधारणसभा सम्पन्न, चुक्ता पुँजी १८ अर्ब पुर्याउने प्रस्ताव पारित

    अनलाइन नेपाल
  • बिहिबार, २४ चैत्र २०७८
  • 1.7K
    SHARES

    काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको चौधौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । काठमाडौंको त्रिभुवन आर्मी अफिसर्स क्लबमा आज सम्पन्न भएको साधारणसभाले आर्थिक वर्ष २०७७/७८ को मुनाफा रकम मध्येबाट कम्पनीका शेयरधनीहरुलाई प्रत्येक १०० कित्ता शेयर बराबर २० (बीस) कित्ताको अनुपातमा बोनस शेयर र प्रति शेयर रु. २० (बीस) का दरले नगद लाभांश वितरण गरी कम्पनीको जारी तथा चुक्ता पुँजी १८ अर्ब पुर्याउने प्रस्ताव पारित गरेको छ । साधरण सभाले आर्थिक वर्ष २०७७/७८ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०७७।७८ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा अन्य अनुसूचीहरु उपर छलफल गरी पारित गरेको छ ।

    त्यसैैगरी साधारणसभाले महालेखा परीक्षकको कार्यालयको परामर्श तथा कम्पनीको लेखापरीक्षण समितिको सिफारिस बमोजिम आ.व. २०७८÷७९ को लागि कम्पनीको लेखा परीक्षण गर्न चार्टर्ड एकाउण्टेण्ट महेश गुरागाईं र चार्टर्ड एकाउण्टेण्ट पीयूष आनन्दलाई लेखापरीक्षक नियुक्त गर्नुका साथै निजहरुको पारिश्रमिक तथा नियुक्तिका अन्य शर्तहरु निर्धारण गरेको छ ।



    सो अवसरमा कम्पनी सञ्चालक समितिका अध्यक्ष एवं सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव बैकुण्ठ अर्यालले साधारणसभामा उपस्थित शेयरधनीहरुलाई स्वागत गर्दै कम्पनीको चौधौं वार्षिक प्रतिवेदन पेश गरेका थिए । प्रतिवेदन प्रस्तुत गर्दै उनले शेयरधनी महानुभावहरूको अटुट विश्वास, उपभोक्ताको भरोसा एवं सद्भाव, कम्पनीमा कार्यरत कर्मचारीहरूको अथक परिश्रम र अन्य सरोकारवालाहरूको सहयोगका कारण देशकै अग्रणी दूरसञ्चार सेवा प्रदायकको रूपमा कम्पनी स्थापित भएको बताए ।



    उनले उपभोक्ताको अपेक्षा अनुरूप सुलभ, अत्याधुनिक र गुणस्तरीय दूरसञ्चार सेवा उपलब्ध गराई कम्पनीलाई सबल, अग्रणी संस्थाको रूपमा विकास गर्न सबैबाट प्राप्त सहयोग, सद्भाव, विश्वास र रचनात्मक सुझावका लागि हार्दिक आभार प्रकट गरेका थिए । कोभिड–१९ को प्रतिकूल अवस्थामा पनि कम्पनीले आफ्नो सेवालाई कुशलताका साथ प्रवाह गर्दै आएको, महामारीकै कारण कोही पनि सेवाबाट वञ्चित हुनु नपरोस् भन्ने उद्देश्यले ग्राहकलाई थप सहुलियत प्रदान गर्ने गरी विद्यमान महशुलमा छुट दिनुका साथै जरिवाना समेत मिनाहा गरेको र विश्वमा विकास भएको नवीनतम र आधुनिक दूरसञ्चार प्रविधिको प्रयोग गरी आफ्नो सेवालाई थप गुणस्तरीय बनाउन कम्पनी प्रतिबद्ध रहेको पनि उनले बताए ।

    उनले भने–‘आर्थिक वर्ष २०७७/७८ मा कम्पनीले कर तथा गैर कर वापत आफ्नो कुल आयको ५० प्रतिशत भन्दा अधिक रकम अर्थात् रु.२७ अर्ब ७३ करोड राजस्व दाखिला गरेको छ । यस अवधिमा संस्थागततर्फ सबैभन्दा बढी आयकर दाखिला गर्ने कम्पनीको रूपमा नेपाल सरकारद्वारा सम्मानित भएको छ । इन्टरनेटको बहुउपयोगमार्फत सूचना प्रवाहलाई सजिलो र प्रभावकारी बनाउनुको साथै इन्टरनेट सेवाको विस्तारमा ध्यान केन्द्रित गरिएको छ । स्याटेलाइट प्रविधिको समेत प्रयोगद्वारा विकट हिमाली जिल्लाहरूमा वायरलेस तथा वायरलाइन सेवा उपलब्ध गराइएको छ । मुलुकभर अप्टिकल फाइबर विस्तार गर्नुका साथै बीटीएस तथा ट्रान्समिसन उपकरणहरू जडान गरी स्थानीय टेलिफोन सेवा, फोरजी एलटीई सेवा र एफटीटीएच सेवा विस्तार तथा वितरणमा तीव्रता दिइएको छ । नेपाल सरकारको सूचना महामार्ग निर्माणको लक्ष्यमा सहयोग पु¥याउन कम्पनीले ब्याकबोन नेटवर्क, मल्टिपल क्रसबोर्डर अप्टिकल फाइबर नेटवर्क र मध्यपहाडी लोकमार्गमा अप्टिकल फाइबर नेटवर्क विस्तार गर्ने कार्यलाई प्राथमिकताका साथ अगाडि बढाएको छ । नेपाल सरकारको नीतिअनुरूप स्थानीय तहको केन्द्र, वडा कार्यालय, स्वास्थ्य संस्था, सामुदायिक माध्यमिक विद्यालय र सामुदायिक क्याम्पसमा इन्टरनेट सेवा विस्तार गर्ने कार्यलाई निरन्तरता दिनुका साथै स्थानीय तहहरूमा फोरजी सेवा विस्तार गरिएको छ ।’

    कोभिड–१९ महामारीको समयमा कम्पनीले विद्युतीय कारोबारमा सहयोग गर्न महत्वपूर्ण भूमिका खेलेको र नेपाल सरकारले घोषणा गरेको बन्दाबन्दीका समयमा कम्पनीले सहुलियत दरमा विभिन्न प्याकेज उपलब्ध गराएको बताउँदै अध्यक्ष अर्यालले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वातावरण, स्वास्थ्य, खेलकुद, शिक्षा लगायतका क्षेत्रहरूमा निरन्तर सहयोग उपलब्ध गराउँदै आएको उल्लेख गरे । अध्यक्ष अर्यालले भने–‘यस आर्थिक वर्षमा कम्पनीको भ्वाइस सेवाको ग्राहक आधार ५.५७ प्रतिशतले वृद्धि भई २ करोड ११ लाख पुगेको छ । कम्पनीको राजस्वको प्रमुख स्रोतको रूपमा रहेको जीएसएम सेवाको ग्राहक आधार १४.२४ प्रतिशतले वृद्धि भएको छ । साथै, कम्पनीको डाटा सेवाको ग्राहक आधार ३५.३१ प्रतिशतले वृद्धि भई २ करोड ३ लाख ९७ हजार पुगेको छ । बजारको माग अनुसार कम्पनीले डाटा सेवामा जोड दिई सोही अनुरूप आफ्नो योजना कार्यान्वयन गर्दै सुविधा उपलब्ध गराउँदै आएको छ । यस आर्थिक वर्षमा कम्पनीले डाटा सेवाको बजार हिस्सामा उल्लेख्य वृद्धि गरेको छ । कम्पनीको ब्रोडब्याण्ड डाटा सेवाको बजार हिस्सा ५.१४ प्रतिशतले वृद्धि भई ५३.८२ प्रतिशत पुगेको छ । यसरी भ्वाइस र डाटा दुवै सेवामा यस कम्पनी नेपालको अग्रणी संस्थाको रूपमा स्थापित हुन सफल भएको व्यहोरा यहाँहरू समक्ष राख्न पाउँदा म गौरवान्वित भएको छु ।’

    प्रविधिमा भएको विकास र परिवर्तनसँगै विश्वमै भ्वाइस सेवाको व्यापार क्रमशः डाटा तथा अन्य भ्यालु एडेड सेवामा रूपान्तरण हुने क्रममा रहेको, बढ्दो प्रतिस्पर्धाका कारण व्यापार प्रबद्र्धनको लागि प्रतिस्पर्धी मुल्यमा सेवा उपलब्ध गराउनुपर्ने वाध्यता विद्यमान रहेको अवस्थामा समेत कुल राजस्व र खूद नाफा क्रमशः रु. ४२ अर्ब २१ करोड र रु.७ अर्ब १३ करोड कायम गर्न कम्पनी सफल भएको उनले बताए ।

    अध्यक्ष अयार्लले प्रविधिको विकास, ग्राहकको आवश्यकता, आर्थिक–सामाजिक क्रियाकलापमा सूचना प्रविधिको अपरिहार्यता जस्ता पक्षहरूको विश्लेषण र मुल्याङ्कन गरी कम्पनीले आफ्नो सेवालाई समयसापेक्ष बनाई मुलुकभर ७७ जिल्लाका ७२० भन्दा बढी स्थानीय निकायमा 4G/LTE सेवा उपलब्ध गराइसकेको छ र बाँकी स्थानमा छिट्टै यो सेवा विस्तार गर्ने गरी काम भइरहेको उल्लेख गरे ।  सोलुखुम्बुको ३,१३० मिटर उचाइमा रहेका विकट ताक्सिन्दु एवं जुभु र ओखलढुङ्गाको विकट सेर्नाजस्ता अत्यन्त दुर्गम स्थानहरुमा मोबाइल सेवा आरम्भ गरिएको छ । त्यसैगरी उनले सेवाको स्तरोन्नति गर्दै सेवा विस्तार तथा गुणस्तर वृद्धि गर्ने क्रममा आर्थिक वर्ष २०७७/७८ मा थप १,५६६ eNodeB जडान गरी सञ्चालनमा ल्याइएको तथा Preventive Maintenance, Network Optimization, Battery Backup थप गर्ने जस्ता कार्यहरूलाई निरन्तरता दिइएको बताए ।

    उपभोक्ताको चाहना बमोजिम नवीनतम प्रविधिमा आधारित गुणस्तरीय तथा भरपर्दो सेवा उपलब्ध गराउनु कम्पनीको प्रमुख लक्ष्य रहेको र यसका लागि डाटा सेवा, भ्यालु एडेड सेवा लगायतका नवीनतम प्रविधिमा आधारित सेवाहरूको विकास तथा विस्तार गरिएको उनको भनाई थियो । उपभोक्तालाई सरल, सहज र सुलभ दरमा विविध सेवाहरू उपलब्ध गराउन तथा कम्पनीको राजस्व वृद्धि गर्न छिट्टै वायरलेस प्रविधिको फोरजी एलटीई विस्तार कार्यलाई पूर्णता दिई फाईभजी सेवाको परीक्षण गर्ने गरी कार्य अगाडि बढाइएको बताउदै उनले भने–‘ताररहित र तारसहित सेवाको विस्तार, अन्तर्राष्ट्रिय रोमिङ सेवाको विस्तार एवं वितरित सेवाहरूको गुणस्तर सुधारलगायतका कार्यहरूलाई तीब्रता दिइएको छ । भ्वाइस सेवालाई डाटा सेवाले प्रतिस्थापन गर्दै लगेकाले डाटाको माग पूर्तिका लागि भ्यालु एडेड सेवा विस्तारलाई प्राथमिकतामा राखिएको छ ।

    डिजिटल अर्थतन्त्रको विकास र विस्तार गर्न सहयोग गर्ने क्रममा राष्ट्रिय वाणिज्य बैंकसँगको सहकार्यमा मोबाइलमा आधारित वित्तीय सेवा उपलब्ध गराउन नेपाल टेलिकमको सहायक कम्पनीको रूपमा नेपाल डिजिटल पेमेन्टस् कम्पनी स्थापना भई सेवा शुरु भइसकेको छ । यस कम्पनीले इन्टरनेट सुविधा उपलब्ध नहुँदा समेत यूएसएसडी प्रविधिबाट डिजिटल भुक्तानी गर्नसक्ने मोबाइल एप्सको विकास गरी सञ्चालनमा ल्याएको छ । कम्पनीका सीडीएमए तथा वाईम्याक्स सेवातर्फका ग्राहकलाई फोरजी एलटीई सेवामा रूपान्तरण गर्ने कार्यलाई तीब्रता दिइएको छ । स्थानीय सेवातर्फ तामाको तारलाई फाइबर नेटवर्कले प्रतिस्थापन गर्ने कार्यलाई तीब्रताका साथ अगाडि बढाइएको छ ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार