Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

उपत्यकाको वायु प्रदूषण तत्काल नहट्ने, आन्तरिक उडानसमेत प्रभावित

काठमाडौं । काठमाडौंसहित मुख्य सहरी क्षेत्रमा तत्काल वायु प्रदूषण कम नहुने सम्भावना रहेको छ ।

प्रि–मनसुन अवधि सुरु भएदेखि नै लगातार वा हल्कादेखि मध्यम पानी नपरेको तथा तत्काल त्यस्तो वर्षा हुने मौसमी प्रणाली पनि नरहेकाले वायुमण्डल पखालिने सम्भावना नरहेको मौसमविद्ले बताएका हुन् ।

हाल केही स्थानमा आंशिक वर्षा हुन सक्ने मौसमी प्रणाली रहे पनि वायुमण्डलमा जमेर रहेको धूलोका कणहरु पखाल्ने गरी लगातारको वर्षा हुने सम्भावना नभएको उनीहरुको भनाई छ ।

यस्तै लामो समयदेखि धूलोका कण उडाएर लैजाने गरी हावाहुरी पनि नचलेकाले प्रदूषण तत्काल हट्ने सम्भावना छैन।

वायुको प्रदूषणस्तर मापन गर्ने आइक्यू एअरका अनुसार काठमाडौँ अहिले पनि विश्वका प्रदूषित प्रमुख सहरको सूचीमा पाँचौँ स्थानमा छ। काठमाडौँको वायुको गुणस्तर १६२ इक्यूआई छ, जुन अस्वस्थकर मानिन्छ। विगत केही समयदेखि नै विशेष गरी काठमाडौँ उपत्यकाको वायु प्रदूषण उच्च रहेको छ।

यस्तै वायु प्रदूषणका कारण दैनिक दुई सय हाराहारी उडान हुने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार पनि आन्तरिक उडान प्रभावित भएका छन् । बुधबार अधिकांश स्थान जाने जहाज मौसमका कारण उड्न पाएका छैनन् । मंगलबार पनि एक दर्जन आन्तरिक उडान रद्ध भएका थिए । ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077