काठमाडौं । काठमाडौंमा हावाको गुणस्तर अस्वस्थकर बनेको छ । उपत्यकाको एयर क्वालिटी इन्डेक्स (एक्यूआई) १ सय ६१ रहेको छ । सोमबार दिउँसो काठमाडौंको एक्यूआई १ सय ६७ रहेको थियो । सामान्यतया ० देखि ५० सम्मको एक्यूआईलाई राम्रो मानिन्छ ।
एक सय ५० भन्दा माथि दुई सयसम्मलाई अस्वस्थकर र त्यसभन्दा माथि तीन सयसम्मलाई अति अस्वस्थकर मानिन्छ । उपत्यकाको आकाश आज पनि धुम्मिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार जमिन तातेर हावासँगैका कण वायुमण्डलमा रहँदा तुवाँलो जस्तै देखिएको छ ।
वायुको गुणस्तरबारे अध्ययन तथा विश्लेषण गर्ने स्वीस कम्पनी आईक्यूएयरले केही दिनअघि सार्वजनिक गरेको सूचीमा विश्वका प्रदूषित राजधानीमध्ये काठमाडौं छैटौं नम्बरमा परेको छ । ११७ देशका ६ हजार ४७५ वटा सहरको वायु गुणस्तर मापन तथा विश्लेषणमा राजधानी सहरहरूमध्ये काठमाडौं छैटौं नम्बरमा परेको हो ।
काठमाडौंको सहरी वायु प्रदूषणमा सवारी साधनको चाप नै मुख्य कारक रहेको वातावरणविदहरूले बताउँदै आएका छन् । अस्वस्थकर वायुले मानिसको स्वास्थ्यमा असर पार्छ ।
सबै उमेरसमूहका मानिसको स्वास्थ्यमा जोखिम बढेको र विशेषगरी बालबालिका र ज्येष्ठ नागरिकलाई थप जोखिम हुने भएकाले सतर्कता अपनाउन वातावरण विभागले आग्रह गरेको छ ।
प्रदूषण बढेको यो बेलामा श्वासप्रश्वास सम्बन्धी रोग खोकी, दम तथा मुटुका बिरामी अझ बढी प्रभावित हुने गर्छन् । केहीदिन सकेसम्म मर्निङ वाक नगर्न पनि विभागले अनुरोध गरेको छ ।
Leave a Reply