Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

एमालेको शक्ति देखेर डराउनु भएका देउवाजीले आफ्नै सभापतिहरूलाई हप्काउनुभएछ : ओली

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेसँग एक्लै भिड्छु भन्ने आँट अब कांग्रेसमा पनि नरहेको बताएका छन् । चार दलीय गठबन्धनसँग चुनावी तालमेलको विपक्षमा रहेका प्रदेश सभापतिहरुलाई जितेर देखाउन गरेको आग्रहप्रति लक्षित गर्दै ओलीले भने–‘ त्यही भएर सभापति शेरबहादुर देउवाले प्रदेश सभापतिहरूलाई हप्काउनु भएछ ।’

एमालेको उद्योग व्यवसायी विशेष जिल्ला कमिटीको अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले चार दलीय सत्ता गठबन्धनमात्र होइन निर्वाचन आयोगमा दर्ता भएका सबै दल एकजुट भएर आए पनि एमाले एक्लै भिड्न र जित्न सक्षम रहेको दाबी गरे ।

अध्यक्ष ओलीले भने–‘राम्रो कुरा हो एक्लै एमालेसँग भिड्छु भन्ने आँट कसैले गर्न सकेका छैनन् । अरूको त के ल्याकत भयो र कांग्रेसले पनि नसक्ने भनेर हात उठायो । प्रदेश सभापतिहरूले गठबन्धन नगरौँ एक्लै जाऊँ भन्दा देउवाजीले नचाहिने कुरा गर्ने ? एमालेसँग एक्लै लड्यो भने के हुन्छ थाहा छ ? त्यसैले तालमेल गर्नुपर्छ भन्नुभएछ । उहाँले टुप्पाबाट बसेर हेर्दा एमालेका पाखुरा देख्नुभयो र छक्क परेर तालमेल गर्नुपर्नेमा पुग्नुभयो ।’

ओलीले सत्ताको धुरीमा बसेर देउवाले जताततै एमाले देखेपछि गठबन्धनको सहारा खोजेको दाबी गरे । उनले एमाले देश भरी एक्लै जित्न सक्षम रहेको भन्दै कसैले हराउने कुरा नचिताए हुने बताए ।

ओलीले भने–‘देउवाजीले टुप्पोमा बसेर हेर्दा देशै भरी एमाले मात्र देख्नुभयो । एमालेको मसल देख्नुभयो । एक्लै त कसैले नचिताए हुन्छ, पाँच वटा होइन निर्वाचन आयोगमा दर्ता भएका सबै दल मिलाएर आए पनि केही फरक पर्दैन ।

अध्यक्ष ओलीले गठबन्धनसँग चुनावी एजेण्डा केही नभएकाले एमाले सरकारका कामको भण्डाफोर गर्ने भनेर हिँडेको आरोप लगाए ।

ओलीले भने–‘भण्डाफोर के को गर्ने ? जनकपुर जयनगर बर्दिबास रेलको लिक किन राखेको ? रेल किन चलाएको भनेर भण्डाफोर गर्ने हो ? अन्तरिक्ष कक्षमा नेपालको आफ्नै स्याटलाइट किन पठाएको ? समुद्रमा किन हक स्थापित गरेका भनेर भण्डाफोर गर्ने ? कि देशभर सबै पालिकामा अस्पताल किन बनाएको भनेर भण्डाफोर गर्ने ?’

पार्टी कार्यालय सानेपामा शुक्रबार बसेको केन्द्रीय समिति बैठकमा प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चुनावी गठबन्धनको विरोध गरिरहेका नेताहरुलाई जितेर देखाउन चुनौती दिएका थिए ।

देउवाले अहिले गठबन्धनको विरोध गर्दा भोलि चुनाव जितेर देखाउन चुनौती रहेको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077