काठमाडौं । निर्वाचन आयोगले साना दलहरूलाई पनि पार्टीकै चुनाव चिह्न दिने तयारी गरेको छ । आयोगको बुधबार बसेको बैठकले साना दलहरूलाई जिल्ला समितिको विवरण र संगठनात्मक संरचनाबारे तीन दिनभित्र जानकारी दिन निर्देशन दिने निर्णय गरेको हो ।
अहिलेसम्म राष्ट्रिय दलको मान्यता पाएका पार्टीका उम्मेदवारलाई मात्रै दलीय चुनाव चिह्न दिने र अरू साना दलका उम्मेदवारले स्वतन्त्र चिह्न लिएर चुनाव लड्नुपर्ने व्यवस्था रहेकोमा निर्वाचन आयोगले सर्तसहित दलीय चुनाव चिह्न दिने भएको हो ।
दलीय चुनाव चिन्ह पाउनका लागि साना दलले आफ्नो सङ्गठन र क्रियाशिलता रहेको विवरण पेस गर्नुपर्नेछ । आफ्नो दलको कुन–कुन जिल्लामा जिल्लास्तरको सङ्गठनात्मक संरचना रहेको छ । त्यो विवरण तयार गरी दलको केन्द्रीय पदाधिकारीले प्रमाणित गरेर यही चैत ६ गतेसम्म जिल्ला निर्वाचन कार्यालयमा पेस गर्न आयोगले समय दिएको छ ।
दलको जिल्ला समितिबाट पेस भएको विवरण जाँच–बुझ र अभिलेख राखी सम्बन्धित निर्वाचन कार्यलयहरूले चैत ७ गतेभित्र निर्वाचन आयोगको केन्द्रीय कार्यालयमा पठाउनु पर्नेछ ।
Leave a Reply