Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

आगामी बैशाख ३० गतेबाट माओवादी पार्टी सकिन्छ, नेकपा एस त 'चिचिला'मै जाने भो : ओली

झापा । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्र समाप्त हुने दाबी गरेका छन् । अध्यक्ष ओलीले माओवादी पार्टी सकिने एउटा झलक आगामी वैशाख ३० मा देखिने टिप्पणी गरेका हुन् ।

सुखानी सहिद स्मृति दिवसका अवसरमा शनिबार झापाको सालबारीस्थित झापा विद्रोहका पाँच योद्धाको सालिकमा माल्यार्पणपश्चात बिर्तामोडमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले जनताले भोट हाले पनि नहाले पनि माओवादी पार्टी समाप्त भएर जाने दाबी गरे ।

उनले भने–‘भोट हाल, भोट नहाल । खाल्डोमा सुत या भुईंमा सुत । पक्की घरमा सुत, कच्ची घरमा सुत । छाप्रो बनाएर सुत, कुटीमा बस । तर, माओवादी केन्द्र भन्ने पार्टी सिद्धिन्छ, सिद्धिन्छ । मैले यो कुरा २०५६ सालमै भनेको थिएँ । दस वर्ष उग्रपन्थ माथि चढ्छ । दस वर्षपछि ओरोलो लाग्छ । दस वर्षमा लगभग सिद्धिन्छ ।’

२०५२ सालदेखि २०६२ सालसम्म माओवादी उकालो लागेको उल्लेख गर्दै उनले भने–‘२०५२ बाट २०६२ सम्म उकालो लागेको तपाईंहरुलाई थाहा छ । त्यसपछि ओरोलो लाग्न सुरु भयो । ७२ मा आइपुग्दा लगभग सिद्धियो । ७४ मा फेरि मैले नै पम्प हाल्दिएको हुनाले अलिकति सुध्रिएर गयो । बेलुनमा पम्प हालेर राख्दा विस्तारै विस्तारै सकिन्छ । अब म माओवादीलाई पम्प किन हाल्छु ?’

उनले पार्टी समाप्त हुँदै गएको देखेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ माओवादी सिध्याउन एमाले लागेको आरोप लगाउन थालेको बताए ।

उनले भने–‘एमसीसी गलत छ तर, भोट हाले । उनले पार्टीको केन्द्रीय कमिटी बैठकमा एमसीसी ठीक छ भनेर भन्न सकेका छैनन् । एमसीसी गलतै छ तर, एमालेले हामीलाई सिध्याउने भयो त्यस कारण राष्ट्रघाती काम गरे भन्छन् प्रचण्ड । सिध्याउने त बाबा तिम्रो चिनामा लेख्या छ, म के भनूँ ?’ अध्यक्ष ओलीले पत्यार नलागे ज्योतिषलाई चिना देखाउन दाहाललाई सुझाव समेत दिन भ्याए ।

कार्यक्रममा उनले माधवकुमार नेपालको पार्टी एकीकृत समाजवादी त चिचिलामै समाप्त हुने दावी गरे । उनले भने–‘माधववाला त पार्टी बनेकै छैन । त्यो बन्दै बन्दैन, नबनिकन समाप्त भएर जान्छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077