काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्वास्थ्यमन्त्री विरोध खतिवडाको राजिनामा माग गरेका छन् ।
पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले एकीकृत समाजवादीका नेता समेत रहेका मन्त्री खतिवडाले कोभिड १९ विरुद्धका २४ लाख डोज खोप हिनामिना गरेको आरोप लगाउँदै राजिनामाको माग गरेका हुन्।
शुक्रबार ‘स्थानीय तह निर्वाचन प्रशिक्षण तथा अभिमुखीकरण’ कार्यक्रमको उद्घाटन समारोहमा बोल्दै अध्यक्ष ओलीले भने, ‘२४ लाख डोज खोप झ्वाम्म भयो, लाज सरम छैन । हाम्रो पार्टीको माग छ २४ लाख डोजको हिसाब चाहियो । कर्लप्न खान पाइदैन। छानबिन हुनुपर्छ।’
यस्तै, ओलीले यस्ता कार्यका लागि मन्त्री खतिवडाले राजिनामा दिनुपर्ने बताए। ‘योभन्दा गैरजिम्मेवार काम अर्को हुन सक्दैन । यसमा मन्त्रीले राजिनामा दिँदैन,’ ओलीले थपे, ‘यस्तो कुरामा कसैले प्रश्न उठाउँदैन। कोही बोल्दैन।’
कार्यक्रममा ओलीले सभामुख अग्निप्रसाद सापकोटाका कारण संसद भेन्टिलेटरमा पुगेको बताए। ‘हामी संसदमा सहभागी हुन चाहन्छौं । तर, सरकारले हामीलाई त्यो अवसर दिइराखेको छैन, ओलीले भने, ‘हाम्रो पार्टीविरुद्ध सभामुख पार्टी फोड्न सक्रिय रहन्छन् । सभामुख प्रतिपक्षविरुद्ध लड्छन् । सभामुखले पदीय मर्यादा ख्याल राखेनन् ।’
आफूहरू संसद्मा सहभागी भएर प्रतिपक्षीको भूमिका निर्वाह गर्न इच्छुक भए पनि सरकारले अवसर नदिएको अध्यक्ष ओलीको भनाइ छ ।
Leave a Reply