काठमाडौँ । महात्मा गान्धीलाई गाली गर्ने भारतीय बाबा भनिने ‘कालिचरण महाराज’ पक्राउ परेका छन्।
भारतीय संचारमाध्यमका अनुसार रायपुर प्रहरीले कालीचरण महाराजलाई आज बिहान मध्यप्रदेशबाट पक्राउ गरेको हो । उनले रायपुरको धर्म संसदमा महात्मा गान्धीलाई गाली गरेका थिए जसका कारण उनको देशभर चर्को आलोचना भइरहेको छ।
'कालीचरणलाई बागेश्वर धाम नजिकैको एक व्यक्तिको घरबाट बिहान ४ बजे पक्राउ गरिएको हो, जहाँ उनले एउटा लज पनि बुक गरेका थिए,'रायपुर प्रहरीको भनाइ उधृत गर्दै बीबीसी हिन्दीले समाचार लेखेको छ।
समाचारका अनुसार प्रारम्भिक अनुसन्धानपछि प्रहरीले उनीविरुद्ध देशद्रोहको मुद्धा समेत लगाएको छ। उनलाई रायपुरको स्थानीय अदालतमा आजै पेस गरिने समाचारमा उल्लेख छ।