Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

२२ वर्षदेखि अलपत्र कन्सुलर राख्ने प्रस्ताव आईजीपी क्षेत्रीको पालामा पास होला ?

काठमाडौं । प्रहरी प्रधान कार्यालयले ७ देशमा प्रहरी सहचारी (कन्सुलर) राख्ने प्रस्ताव गृह मन्त्रालयमा पठाएको छ । केन्द्रीय प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवरले आज आयोजित पत्रकार सम्मेलनमा यसबारे जानकारी गराएका हुन् ।

प्रहरीले विगत २२ वर्षदेखि पटक–पटक विभिन्न मुलुकमा सहचारी राख्ने प्रस्ताव पठाइरहेको भए पनि हालसम्म निर्णय भने हुन सकेको थिएन।

यसअघि अच्युतकृष्ण खरेल आईजीपी हुँदा २०५६ सालमा पहिलो पटक ७ वटा देशमा कन्सुलर राख्ने प्रस्ताव गरिएको थियो । त्यसबेला खरेलले भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, सिंगापुर, हङकङ र थाइल्याण्डस्थित नेपाली दूतावासमा सहचारी राख्न प्रस्ताव गरेका थिए ।

तर, अहिले भने प्रहरी प्रधान कार्यालयले न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघीय डिपमार्टमेन्ट अफ पिस किपिङ अपरेन्सस (डीपीकेओ) सहित बंगलादेश, चीन, संयुक्त अरब इमिरेट्स (यूएई), कतार, साउदी अरेबिया र मलेसियामा सहचारी राख्न प्रस्ताव गरिएको छ ।

हाल भारतस्थित नेपाली दूतावासमा मात्र प्रहरी सहचारी रहेका छन् । त्यहाँ सहचारीका रुपमा प्रहरी वरिष्ठ उपरीक्षक वीरेन्द्र बस्याल कार्यरत छन् ।

हुनत यसअघिका आईजीपी उपेन्द्रकान्त अर्याल, प्रकाश अर्याल र सर्वेन्द्र खनालको पालामाम यो प्रस्ताव गृह मन्त्रालयमा नपठाइएको भने होइन । गृहबाट परराष्ट्र पुगेको उक्त फाइलमा अहिलेसम्म निर्णय भने हुन सकेको छैन ।

उक्त फाइलप्रति अर्थ मन्त्रालय सकारात्मक भएपनि परराष्ट्रले भने क्षेत्राधिकार नमिल्ने भनेर फाइल अड्काउँदै आइरहहेको छ । परराष्ट्र सम्बन्धी ऐन, २०६८ अनुसार विदेशस्थित नेपाली नियोगमा कार्यरत कर्मचारीले मन्त्रिपरिषद्ले तोके बमोजिम भत्ता र अन्य सुविधा पाउँछन् ।

आईजीपी खरेलको पालादेखि पास हुन नसकेर बसेको उक्त प्रस्ताव आईजीपी शैलेश थापा क्षेत्रीले पास गराउन सकेको खण्डमा नेपाल प्रहरीभित्र एउटा सह्राहनीय काम हुने प्रहरी अधिकारीहरु बताउँछन् ।

पत्रकार सम्मेलनमा प्रवक्ता कुँवरले यसपटक प्रस्ताव स्वीकृत हुनेमा आशावादी रहेको बताएका थिए भने गृह मन्त्रालयका प्रवक्ता प्रदीप कोइरालाले पनि नेपाल प्रहरीको प्रस्तावमा आफूहरु सकारात्मक रहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077